ब्रेण्डन म्याकलमद्वारा सबैखाले क्रिकेटबाट सन्यासको घोषणा

तस्बिरः एजेन्सी

न्युजिल्याण्डकाब्राण्डन म्याकलमले सबै प्रकारको क्रिकेटबाट सन्यास लिएका छन्।

क्यानडामा जारि ग्लोबल टी-२० लिगमा नेपाली युवा सन्दीपको टिम टोरोन्टो नेसनल्सबाट खेलिरहेका म्याकलमले सोमबार सन्यासको घोषणा गर्दै यो प्रतियोगितालाई अन्तिम बनाउने भएका छन्।

‘म गर्व र सन्तुष्टिका साथ सबै खालको क्रिकेटबाट ग्लोबल टी-२० क्यानडा पछि सन्यास घोषणा गर्दैछु,’ उनले सन्यास घोषणामा भने,‘म मेरो २० वर्षे व्यवसायिक क्रिकेट करियरमा प्राप्त सफलतामा गर्व गर्छु जुन मैले क्रिकेट सुरुवात गर्दा सपना देखेको थिए। म अझै निरन्तरता दिन चाहन्थे तर पछिल्लो केहि महिना सन्तुलन गर्न गाह्रो हुँदै गएको थियो’

आफूले क्रिकेट खेल्दा कुलिङ पार्कदेखि लर्ड्ससम्म बिभिन्न सुन्दर यादहरु जोडिएका भन्दै उनले दुर्भाग्यवस जुन ट्याग र लगावले क्रिकेट खेल्नु पर्छ त्यो आफ्नो लागि गाह्रो भएको बताए।

‘मैले पछि फर्केर हेर्दा मेरो खेल र प्राप्तिबाट गर्व गर्छु। न्युजिल्याण्ड क्रिकेटलाई नयाँ शैलीको क्रिकेट खेल्ने बनाउदै विश्व क्रिकेटमा इज्जत दिलाउन सके। मैले धेरै चुनौतीहरुमा रमाउदै सामना गरेको छु र विदा लिंदा कुनै पनि कसर बाँकी राखेको छैन,’ उनले अगाडि भनेका छन्।

“मेरो आगामी यात्रा मिडिया र प्रशिक्षणमा हुनेछ जुन चुनौतीपूर्ण रहेको छ। म निराश छु मैले माया गरेको क्रिकेट छोड्नु पर्दा र म भविष्यको लागि पनि उत्साहित छु।”

“म मेरो परिवार, साथि, टिममेट, प्रशिक्षक, व्यवस्थापक, मिडिया, समर्थक र सबै समर्थकहरुलाई हृदय देखि धन्यवाद दिन चाहन्छु।”

३७ वर्षीय विकेटकिपर ब्याट्सम्यान म्याकलमले ट्वीट मार्फत पोस्ट गर्दै भने,‘यो निकै चुनौतीपूर्ण यात्रा थियो जुन मैले सम्हाले। हरेक राम्रो कुराको अन्त्य हुन्छ।’

सन् २००४ मा दक्षिण अफ्रिकाविरूद्धकोटेस्टमा तथा २००२ मा अस्ट्रेलिया बिरुद्ध एकदिवसीयमा म्याकलमले न्युजिल्याण्डको लागि डेब्यू गरेका थिए।

 टी-२० मा उनले २००५ मा डेब्यु गरेका थिए। यस क्रममा उनले १०१ टेस्टमा ६,४५३ रन, एकदिवसीयमा २६० खेलमा ६,०८३ रन तथा टी-२० मा ७१ खेलमा २,१४० रन प्रहार गरे। टेस्टमा १२ , एकदिवसीयमा ५ र टी-२० मा उनले २ वटा शतक प्रहार गरे।

न्युजिल्याण्ड राष्ट्रिय टिमको लागि उनले अन्तिम टेस्ट र एकदिवसीय २०१६ मा खेलेका थिए भने २०१५ मा अन्तिम टी-२० खेलेका थिए। राष्ट्रिय टिमबाट सन्यास पछि उनी टी-२० लिगहरुमा व्यस्त थिए।

क्रिस गेल पछि उनी टी-२० अन्तर्राष्ट्रियमा शतक बनाउने दोस्रो ब्याट्सम्यान रहेका थिए। यस्तै टी-२० मा २ वटा शतक बनाउने पन उनी पहिलो ब्याट्सम्यान थिए।

उनको कप्तानीमा न्युजिल्याण्ड टिम २०१५ एकदिवसीय विश्वकपमा पहिलो पटक फाइनल पुगेको थिए। २०१५ मा न्युजिल्याण्ड घरमा खेलिएको लगातार १३ वटा टेस्टमा अपराजित रहेको थियो।

म्याकलम पहिलो क्रिकेटर हुन् जसले डेब्यु पछि लगातार १०० वटा टेस्टमा लगातार खेलेका थिए। उनी न्युजिल्याण्डको लागि तेहेरो शतक प्रहार गर्ने पहिलो न्युजिल्याण्ड ब्याट्सम्यान् पनि हुन्। उनले २०१४ मा भारत बिरुद्ध ३०२ रन प्रहार गरेका थिए।

प्रकाशित मिति: : 2019-08-06 00:12:10

प्रतिकृया दिनुहोस्