घरेलु टोली इंग्ल्यान्डलाई २५१ रनले हराउँदै अष्ट्रेलियाले एसेज सिरिजमा कीर्तिमानी जित निकालेको छ।
यस नतिजासँगै पाँच खेलको टेस्ट सिरिजमा पाहुना टोली अष्ट्रेलियाले १-० को अग्रता लिएको छ ।
जितसंगै अस्ट्रेलियाले आईसीसी टेस्ट च्याम्पियनसिपमा समेत पहिलो जित दर्ता गर्दै २४ अंक बटुलेको छ।
कुनै पनि भ्रमण टोलीले एजब्यासटन मैदानमा पहिलो इनिङमा पछि पर्दै जितेको यो पहिलो टेस्ट हो।
अस्ट्रेलियाले पहिलो इनिङमा ९० रनले पछि परेको थियो। पहिलो इनिङमा ९० वा सो भन्दा बढीको अग्रताको बाबजुत २५१ रनको जित हालसम्मकै सबैभन्दा ठूलो जित हो।
यसअघि सन् १९६६ मा पछिल्लो पटक दक्षिण अफ्रीकाले अस्ट्रेलियालाई पहिलो इनिङमा १२६ रनले पछि पर्नुको बाबजुत पराजित गरेको थियो।
अन्तिम दिन जितका लागि ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड पाँचौ दिन ५२.३ ओभरमा १ सय ४६ रनमा अल आउट भएपछि ठूलो अन्तरको हार बेहोर्न पुगेको हो।
इंग्ल्यान्डका लागि क्रिस वोक्सले सर्वाधिक ३७, जोसन रोय र कप्तान जो रुटले समान २८ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् ।
इंग्ल्यान्डका ६ ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन नपाउँदै पेभिलिएन फर्किए।
इंग्ल्यान्डलाई सस्तैमा अल आउट गर्न राख्न अनुभवी स्पिनर नाथन लायनले २० ओभरमा ५ मेडन सहित ४९ रन खर्चेर ६ विकेट लिए । त्यस्तै प्याट कमिन्सले ४ विकेट हात पारे ।लायनले जेसन रोय, जो रुट, जो डेनलि, बेन स्टोक्स, मोइन अलि र स्टुवार्ट ब्रडको महत्वपूर्ण विकेट लिए।
त्यसअघि चौथो दिन दोस्रो इनिङमा अष्ट्रेलियाले १ सय १२ ओभरमा ४८७/७ को अवस्थामा इनिङ समाप्तीको घोषणा गरेको थियो । स्टिभ स्मिथ २ सय ७ बलमा १४ चौका सहित १ सय ४२ रन बनाएर आउट भए। म्याथ्यु वेडले पनि १ सय ४३ बलमा १७ चौका सहित १ सय १० रन जोडेका थिए।
तल्लोक्रममा जेम्श प्याटीन्सन ४८ बलमा ४ छक्का र २ चौका सहित ४७ रनमा नटआउट रहे । प्याट कमिन्स २६, कप्तान टिम पेन ३४, ट्राभिस हेड ५१ र उस्मान खवाजाले ४० रन जोडे । इंग्ल्यान्डका वेन स्टोक्सले ३ र मोइन अलीले २ विकेट लिए ।
अष्ट्रेलियाले स्मिथको १ सय ४४ रनको उत्कृष्ट शतकमा पहिलो इनिङमा २ सय ८४ रन बनाएको थियो । जवाफि पहिलो इनिङ थालेको घरेलु टोली इंग्ल्यान्डले रोरी बर्न्सको १ सय ३३ रनको शतकमा ३ सय ७४ रन बनाउँदै ९० रनको अग्रता लिएको थियो । त्यस्तै जो रुट ५७ र बेन स्टोक्सले ५० रनको योगदान दिए । अष्ट्रेलियाका प्याट कमिन्स र नाथन लायनले समान ३ विकेट लिए । दोस्रो टेस्ट १४ अगष्टमा सुरु हुनेछ ।
स्मिथ प्लेयर अफ द म्याच
अस्ट्रेलियाको जितमा बल टेम्परिङ घटनामा आरोपित भएपछि १ वर्षे प्रतिबन्धबाट टेस्ट क्रिकेटमा कमब्याक गरेका स्टिभ स्मिथले उत्कृस्ट प्रदर्शन गरे।
प्लेयर अफ द म्याच चुनिएका स्मिथले पहिलो इनिङमा मुस्किल अवस्थामा १४४ रन बनाएका थिए भने दोस्रो इनिङमा पनि १४२ रन बनाउदै ठूलो योगफल बनाएका थिए।
एसेजका २ इनिङमा २ वटा शतक बनाउने स्मिथ आठौं ब्याट्सम्यान हुन्। सन् २००२ मा म्याथु हेडनले पछिल्लो पटक यो काम गरेका थिए।
यस्तै एसेजमा धेरै शतक बनाउने ब्याट्सम्यानको सूचीमा १० शतक सहित स्मिथ स्टिभ वासँगै संयुक्त रुपमा तेश्रो स्थानमा उक्लिएका छन्।
एसेजमा डन ब्र्याडम्यानले १९ तथा ज्याक हब्सले १२ शतक बनाउँदै पहिलो र दोश्रो स्थानमा छन्।
११९ इनिंगमै २५ टेस्ट शतक पुरा गर्दै स्मिथ विश्वकै दोश्रो छिटो २५ टेस्ट शतक पुरा गर्ने ब्याट्सम्यान बनेका छन्।
सबैभन्दा छिटो डन ब्र्याडम्यानले ६८ इनिंगमा २५ शतक पुरा गरेका थिए। तेस्रो छिटो बिराट कोहलीले १२७ इनिंगमा , चौथो छिटो सचिन तेन्दुलकरले १३० इनिंगमा, पाँचौ छिटो सुनिल गावस्करले १३८ इनिंगमा २५ शतक बनाएका थिए।
खेल समरी
अस्ट्रेलिया पहिलो इनिङ : २८४ (स्टिभ स्मिथ १४४, स्टुवार्ट ब्रोड ५/८६ )
इंग्ल्याण्ड पहिलो इनिङ: ३७४ ( रोरी बर्नस १३३ , कमिन्स ३/८४ , लायन ३/११२)
अस्ट्रेलियाको दोश्रो इनिङ : ४८७/७ ( स्टिभ स्मिथ १४२ , म्याथु वेड ११० , बेन स्टोक्स ३/८५ )
इंग्ल्याण्ड दोश्रो इनिंग : १४६/१० ( क्रिस वोक्स ३७ , नाथन लायन ६/४९ , प्याट कमिन्स ४/३२ )
५ खेलको सिरिज अन्तर्गत दोस्रो टेस्ट अगस्ट १८ बाट लर्ड्समा खेलिनेछ।