युद्धविरोधी अन्तरार्ष्ट्रिय संस्थाको सञ्चालकमा नेपालका सुभाष

‘वार रेसिस्टर्स इन्टरनेशनल’ को सञ्चालक परिषद सदस्य सुभाषचन्द्र कट्टेल । तस्बिर : बीएल

युद्धविरोधी अभियान चलाउँदै आएको अन्तरार्ष्टि्रय संस्थामा एक नेपाली युवा जिम्मेवारीपूर्ण भूमिकाका लागि चयन भएका छन् । 

शान्ति तथा अहिंसा अभियानकर्मी सुभाषचन्द्र कट्टेल अन्तरार्ष्टि्रय शान्तिवादी संस्था ‘वार रेसिस्टर्स इन्टरनेशनल’ को सञ्चालक परिषदमा चुनिएका हुन् ।

पूर्वी नेपालको इलामस्थित जितपुर नवमीमा जन्मेहुर्केका कट्टेल लामो समयदेखि युद्धविरोधी अभियानमा संलग्न छन् । उनी नेपालमा चलेको सशस्त्र माओवादी द्वन्द्वका पीडित हुन् ।  

यो पनि पढ्नुस्

हाकुपटासीको बारेमा सुन्नु भएको छ? 
हेर्नुस भिडियो कथा

कोलम्बियाको बोगोटामा भरखरै सम्पन्न सम्मेलनबाट कट्टेल उक्त संस्थाको अन्तरार्ष्टि्रय परिषद् र कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन् । अगष्ट २ र ३ मा आयोजित सम्मेलनले विभिन्न मुलुकका १२ जना शान्तिकर्मी सहभागी परिषद र ५ जनाको कार्यसमिति चयन गरेको छ ।

सबै किसिमका युद्धमुक्त विश्वका लागि काम गर्ने उद्देश्य बोकेर उक्त संस्था सन् १९२१ मा स्थापना भएको हो । विश्वका ४० भन्दा बढी देशमा यसका सयौं संस्था साझेदार सदस्य छन् । ती संस्थाले आ–आफ्नो देशमा न्याय र शान्तिका लागि अहिंसात्मक अभियान चलाइरहेका छन् ।

यो पनि पढ्नुस्

फ्रान्सका एउटा सालिक, जसको प्रजनन अंग मुसारेर आमा बन्ने सपना देख्ने लाखौं फ्रेन्च महिलाहरू

युद्ध, हिंसा, अन्याय, दमन र शोषणको विरुद्धमा ती संस्थाको अभियान केन्द्रित रहेको संस्थाले जनाएको छ । उक्त अन्तराष्ट्रिय संस्थाले शान्ति र अहिंसाबारे सर्वसाधारणलाई सचेत गराउँदै आएको छ ।

यसैगरी विभिन्न मुलुकमा आयोजना हुने कार्यक्रमहरु अनि नियमित प्रकाशनमार्फत संसारभरका अभियानकर्मीलाई एकीकृत गर्ने उद्देश्य संस्थाको छ ।

प्रकाशित मिति: : 2019-08-05 22:40:28

प्रतिकृया दिनुहोस्