राजेन्द्र महतोको आक्रोश- राजेन्द्र महतोको नागरिकता रद्द भयो भनेर सरकारले मेरो राष्ट्रियतामाथि खेलवाड गर्‍यो

बीएल

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले ओली सरकारले आफ्नो राष्ट्रियतामाथि खेलबाड गरेको बताएका छन्।

सरकारले ठेगाना नभनी राजेन्द्र महतोको नागरिकता खारेज गर्‍यो भनेर आफ्नो राष्ट्रियतामाथि प्रश्न उठाएको भन्दै सोमबार बसेको प्रतिनिधिसभा बैठकमा गम्भीर आपत्ति प्रकट गरेका छन्।

विशेष समय मागेर बोल्दै महतोले खोक्रो राष्ट्रवादी सरकारले आफ्नो मानमर्दन गरेको आरोप लगाएका हुन्।

मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सूचना प्रविधि एवं सञ्चार मन्त्री गोकुल बाँस्कोटाले राजेन्द्र महतोसहित आठ जनाको नागरिकता रद्द गरिएको जानकारी सुनाएका थिए।

‘ठेगाना बिनाको नाम भनेर खोक्रो राष्ट्रवादी सरकारले मेरो मानमर्दन गर्‍यो’, नेता महतोले भने, ‘सरकारले मसँग माफी माग्नुपर्छ।’

नाकाबन्दीका बेला पनि सरकारले खोक्रो राष्ट्रवाद देखाएको भन्दै नेता महतोले अहिले आफ्नो राष्ट्रियतामाथि सरकारले प्रश्न उठाएको आक्रोश पोखे।

महतोले सञ्चारमाध्यमले पनि अस्पुष्ट समाचार लेखेको भन्दै पुष्टी भएको समाचार मात्र संकलन गर्नुपर्ने बताए।

‘मेराविरुद्ध भ्रमको खेती सुरू गरिएको छ, राजेन्द्र महतो लगायत ८ जनाको नेपाली नागरिकता बदर गरिएको भनेर मन्त्री गोकुल बास्कोटामार्फत् व्यापक प्रचार भएको छ’, उनले भने, ‘त्यो कुन राजेन्द्र महतो हो? सरकारले राष्ट्रियतासँग जोडिएको विषयमा र्साजनिक गर्दा राजेन्द्र महतो लगायत यति जनाको नागरिकता बदर गरिएको छ भनेर समाचार आउनु, राष्ट्रिय जनता पार्टी नेपालका सांसद राजेन्द्र महतोको नागरिकता बदर गरिएको छ। यस्तो प्रचार किन गरियो?’

चौतर्फी असफल भएको सरकारले राजेन्द्र महतोको राष्ट्रियतमथि प्रश्न उठाएको भन्दै उनले गम्भीर आपत्ति जनाए ।

‘सरकारले को हो राजेन्द्र महतो किन प्रष्ट नखुलाएको हो। प्रष्टरुपमा सरकारले किन भन्न सकेन?’, उनले भने, ‘गृहमन्त्रालयले राजपाको नेता राजेन्द्र महतो होइन भन्छ, गलत प्रचार गराएर गर्न खोजेको के हो?’

उनले नाम मात्रै भनेर त्यो सञ्चारमाध्यममा यसरी आएको छ। अर्को व्यक्तिसँग जोडेर गलत भएको छ। सञ्चारमाध्यम र सरकारले मेरो मानहानी गरे। सरकारले प्रष्ट भनोस्, सरकारले माफी मागोस, भ्रम नफैल्याओस् भनेका छन्।

महतोले वास्तविकता पत्ता नलगाइ भन्‍न नपाइने बताए। ‘चरित्र हत्या गर्न पाइँदैन’, उनले भने, ‘नाकाबन्दीको बेला पनि यस्तो देखेको थिएँ। यस्तो नगरियोस्।’

प्रकाशित मिति: : 2019-08-05 15:09:31

प्रतिकृया दिनुहोस्