नेपाली कांग्रेसको १३ औं महाधिवेशनपछि पार्टीको राजनीतिमा बढी नै उतारचढाव देखिएको छ । महाधिवेशनपश्चात् पार्टीभित्र असहज र अप्रत्याशित परिस्थिति उत्पन्न भएको छ । पार्टीको १३ औं महाधिवेशनपछि पार्टी जसरी अगाडि बढ्छ भन्ने सोच थियो त्यो हुन नसकेर चरम गुटबन्दी देखापरेको हो । पार्टीभित्रका आन्तरिक विवादले नेटो कटेको छ ।
महाधिवेशनपछि शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेसको राजनीति फरक ढंगले जानुपर्थ्यो तर भयो अर्कै । पार्टी स्थापनाकालदेखि रहेका नेताको व्यक्तित्व खुकुलियो । अन्ततः रामचन्द्र पौडेल र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा भयो । औसत नयाँ नेता नेतृत्वमा आएपछि पार्टीभित्रको वातावरण फराकिलो हुनुपर्नेमा झन् संकुचित भयो । अत्यधिक गुटउपगुटले चलखेल गर्न सुरु गरे । कोइराला गुट र सिटौला गुट र अर्का प्रभवशाली नेता खुमबहादुर खड्काको निधनपश्चात् हाल अदृश्य अवस्थामा रहेको गुटको चलखेलका कारण नेपाली कांग्रेसको नेतृत्व सर्वस्वीकार्य हुन नसकेर पार्टी कमजोर हुन पुग्यो । बीपी कोइरालाको नेतृत्वकालमा उहाँले भनेपछि सर्वस्वीकार्य हुने परिस्थिति जुन अवस्थामा थियो त्यो अवस्था हाल गुटउपगुटका कारण रहेन । निकै कमजोर भयो । बीपी कोइराला घन्टौंसम्म साथीहरू तथा कार्यकर्ताका कुरा सुन्ने र साथीहरूकै सरसल्लाहमा निर्णय गर्ने गर्नुहुन्थ्यो । बीपीको देहावसान पश्चात प्रायः देखापरेका सभापतिहरूको स्वेच्छाचारी भावना र नीतिले जरा गाड्दै गयो । त्यस्तै पछिल्लो समयमा त झन् शेरबहादुर देउवा सभापति हुनुभएपछि महाधिवेशनका बेला उहाँले बनाउनुभएको ‘समूह’बाट बाहिर निस्कन नसकेको देखियो । उहाँ समूहकै बन्धकजस्तो बन्नुभयो । केन्द्रीय समितिमा निर्णय चाहिँ औपचारिकजस्तो गरे पनि बहुमतको दम्भअनुसार नै सबै निर्णय हुन थाले ।
पार्टीप्रतिको इमानदारीको कमीका कारण पार्टी यो हविगतका साथै लोकतन्त्रप्रति नकारात्मक भावना उत्पन्न हुन पुगेको आभास हुनथालेको छ । अहिले त झन् कांग्रेसभित्र संस्थागत निष्ठाभन्दा व्यक्तिगत बफादारीले महत्त्व पाउन थालेको छ । हुनत यस्तो प्रवृत्ति हिजो पनि थियो अहिले झन् बढेर गएको छ ।
यसो हुनु कांग्रेस पार्टीका लागि दुर्भाग्य हो । किनभने वर्तमान नेतृत्वले हिजो गिरिजाप्रसाद कोइरालाले पार्टी चलाउँदा गर्नुभएको कमजोरीलाई झन् उग्ररूपले अघिबढाएको देखिन्छ । पार्टीमा कार्यकर्ताको मूल्यांकन भएन । आन्तरिक लोकतन्त्रलाई बलपूर्वक दबाइएको छ ।