फेरि एकपटक आफैं हेगको हल्ला चलाएर प्रचण्ड ‘हिरो’ बन्न खोजेका छन्। ‘हेग लगे झन् हिरो बन्छ’ भन्ने प्रचण्ड बोलीले यतिबेला राजनीतिक बजार तरंगित भएको छ। उनको यो भनाइ मिडिया र सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ। ‘हेग हल्ला’ ले उनका दुइटा हैसियत उजागर गरिदिएको छ– पहिलो, राजनीतिक परिपक्वता र सुझबुझको स्तर र दोस्रो, द्वन्द्वकालीन अपराधको पश्चात्ताप।
साउन १३ गते खुमलटारमा विप्लव समूह छाडेर नेकपामा प्रवेश गर्नेहरूलाई स्वागत गर्ने क्रममा प्रचण्डले आफूलाई हेग (अन्तर्राष्ट्रिय अदालत) लगे संसारकै हिरो बन्ने अभिव्यक्ति दिएका थिए। उनले भनेका थिए, ‘हेग लगेर पनि मलाई केही फरक पर्नेवाला छैन। हेग लगे भने त म झन् विश्वकै हिरो भएर निस्कन्छु।’
संयोग नै भन्नुपर्छ– त्यही दिन केही अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले सशस्त्र द्वन्द्वपीडितलाई न्याय दिने प्रतिबद्धता पूरा गर्न नेपाल सरकार असफल भएको वक्तव्य पनि निकाले। एम्नेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे), ह्युमन राइट्स् वाच र ट्रायल इन्टरनेसनलले निकालेको संयुक्त वक्तव्यमा द्वन्द्वकालीन मानव अधिकार उल्लंघनलाई सम्बोधन गर्ने सवालमा नेपाल सरकार अकर्मण्य देखिएको उल्लेख गरेका छन्। प्रचण्डको हेग अभिव्यक्ति र मानव अधिकारवादी संस्थाहरूको वक्तव्यबीच नियोजित सम्बन्ध नभए पनि यसले जनमानसमा एक खालको संशय पैदा गरेको छ। दुईपटक प्रधानमन्त्री भइसकेका प्रचण्डले किन एकाएक हेगको हल्ला फैलाए ?
कुन अवस्था र प्रसंगमा प्रचण्डले हेगको कुरा गरे, त्यो महत्त्वपूर्ण होइन। यस्तो संवेदनशील विषयमा प्रचण्ड सार्वजनिक मञ्चमा किन यति हल्का रूपमा बोल्दैछन् ? यो प्रश्न महत्त्वपूर्ण हो। पछिल्लो समय प्रचण्डमा एक प्रकारको छटपटी र बेचैन देखिन्छ। प्रचण्डले हल्ला गरेजस्तो हेगको बाटो त्यति सजिलो भने छैन। नेदरल्यान्ड्सको द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले नरसंहार, युद्ध अपराध र मानवताविरुद्धको अपराधलगायत गम्भीर विषयका मुद्दा हेर्ने गरेको छ। नेपाल रोम विधानको पक्ष राष्ट्र नै होइन। त्यसैले यहाँको द्वन्द्वकालीन मुद्दा हेगको अधिकार क्षेत्र सजिलै पर्ने अवस्था छैन। नेपालले अन्तर्राष्ट्रिय सन्धि रोम विधानमा हस्ताक्षर गरेको छैन। यहाँको भूराजनीतिक परिवेश, दुई ठूला छिमेकीको गहिरो नजर र सामरिक चलखेलका कारण पनि त्यो सम्भावना कठिन देखिन्छ।
प्रचण्ड राजनीतिका विचित्र खेलाडी हुन्। जबजब प्रचण्ड चेपुवामा परेको महसुस गर्छन् अर्थात् चेपुवामा पर्ने खतरा देख्छन्, राजनीतिक बजारमा केही न केही फन्डा फालेर हिरो बन्न खोज्छन्। हेगप्रकरण पनि त्यसकै निरन्तरता हो। राजनीतिमा नयाँनयाँ समीकरण र सम्बन्ध बनाएर खेलिरहन मन पराउने प्रयोगवादी पात्र हुन् प्रचण्ड। एकै खालको सम्बन्ध र समीकरणमा टिकिरहन र एउटै भूमिकामा अडिन चाहँदैनन् उनी। राजनीतिक मैदानमा मुभ गरिरहने र बेलाबेला झुक्याएर पनि गोल हान्न सिपालु खेलाडी हुन्। भूमिगत अवस्थामा होस् वा खुला राजनीतिक यात्रामा उनको दोस्ती र दुस्मनीको शृंखला अनौठो छ। प्रचण्डले ‘भर नभएको एउटा अस्थिर नेता’ को आम आरोप खेप्दै आएका छन्। प्रचण्ड स्वयं भने यसलाई समयले मागेको गतिशीलता र लचकता भनेर बचाउ गरिरहेका छन्।