‘घरभित्र डरलाग्दो चरा पस्यो, ठूला ठूला आँखा छन्, नाकमाथि घाउ पनि छ, ट्याक्क ट्याक्क गरेर कराएको छ, लौन के गर्ने होला?’ स्थानीयका डर, माया र आशा भरिएको प्रश्न प्रायजसो फोनमार्फत सुनिरहन्छु। उनीहरूको चासो घाइते लाटोकोसेरो र हुचिल कसरी उद्धार गर्ने भन्ने नै हुन्छ।
सकेसम्म नजिकै भए आफैं पुग्छु, नसके साथीहरूलाई भन्छु। र त्यो पनि नसके चिडियाखाना, वन कार्यालय, वार्डेन कार्यालय, आदिमा खबर गर्न भन्छु। अहिलेसम्म तीनवटा घटना बाहेक सबै लाटोकोसेरो सकुशल आफ्नै वासस्थानमा फर्किएका छन्। सो सङ्ख्या करिब १०० पुग्न आँटेको छ।
यसरी लाटोकोसेरोलाई उद्धार, पुनर्स्थापना गर्दा विशेष तालिम चाहिन्छ। उपकरण चाहिन्छ। आर्थिक स्रोत चाहिन्छ। कानुनी आधार चाहिन्छl राख्ने स्थान चाहिन्छ। तर हामी वर्षौदेखि यी सबै नहुँदा पनि यो काम गरिरहेका छौँ। कहिलेकाहीँ लाग्छ राम्रो काम गर्न केही पनि चाहिदैन् क्या हो! आफैंले आफूलाई राम्रो भन्दा किन यस्तो भन्यो भन्ने लाग्ला। अरूको उद्धार गरेर जीवन दिनु राम्रो काम हैन त!
एकपटक धादिङ सदरमुकाम नजिकै उद्धारको प्रयास गर्दा ‘पोखरादेखि आएर उद्धार गर्नु भएको छ। पैसा त निकै कमाइन्छ होला नि!’ स्थानीयले यस्तो प्रतिक्रिया दिएका थिए। तर त्यति खेर म धादिङमा नै काम गर्थेँ। स्थानीयको यो बचन मुटुमा अहिलेसम्म पनि बिझिरहन्छ।
कहिलेकाहीँ हामी उद्धारकर्मी आपसमा छलफल गर्छौँ। संरक्षणकर्मी ऋषि बरालको यो वाक्यले लामो समयसम्म काम गर्ने ऊर्जा दिइरहन्छ ‘आ…. छोड्नु दाइ, भन्नेको मुख कसले टाल्न सक्छ र! यस्तो काम गर्दा चराले हामीलाई कति आशिष दिन्छ होला।' हुन् पनि हो, उपचार गरेर चरा उडेपछि आनन्द लाग्छl अस्पतालबाट ठूलो रोगको सफल उपचार गरेर हामी घर फर्के जस्तो। तिनको उद्धारमा भएको व्यक्तिगत खर्च, समय, अनि मानिसको बचन सबै पाखा लाग्छन्। सन्तुष्टि नै यो क्षेत्रको सबैभन्दा ठूलो आम्दानी रहेछ।
मानिसलाई उपचार गर्ने अस्पताल छन्, तर लाटोकोसेरो घाइते हुँदा जाने ठाउँ छैन। यी अबोध प्राणीसँग मृत्यु कुर्नेबाहेक कुनै विकल्प हुँदैन। यिनीहरू कहिले जालीमा पर्छन्, कहिले गुडबाट खसेर घाइते हुन्छन्, कहिले कागले लखेटेर रगताम्मे हुन्छन्। कहिले अवैध व्यापारको क्रममा सरोकारवाला निकायले समात्दा तनावमा हुन्छन्। गुलेलीले घाइते हुन्छन्। गुडमा गएर समाउने, पासोमा पार्ने त कति हो कति।
यस्तो बेला यिनलाई माया, स्याहार र उपचारको आवश्यकता हुन्छ तर उपचार नेपालमा छैन भन्दा पनि हुन्छ। लौन उपचार गर्ने व्यवस्था गर्नुपर्यो भने उही प्रश्नले जहिले पनि दुःख मात्र दिन्छ ‘मानिसहरू जीवनजल नपाएर मरेको देशमा चराको उपचार।’ मानिसको पनि उपचार गरौँ, यी अबोध पंक्षीको पनि उपचार गरौँ न। किन राम्रा कामहरूलाई पश्चिम नेपाल भन्दै रोकिन्छ कुन्नि!
पछिल्लो समयमा सबै प्रदेशमा वन्यजन्तु उद्धार र पुनर्स्थापना केन्द्र स्थापनाको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण एन २०२९ को पाँचौँ संशोधनले बाटो खोलिदिएको छ। प्राविधिक रूपमा हामी कमजोर छौँ। त्यसैले वन्यजन्तुको उद्धार र पुनर्स्थापना गर्न प्राविधिक तालिम पनि अति आवश्यक छ।
नेपालबाट मात्रै वार्षिक करिब दुई हजार लाटोकोसेरो बेचिने वा मारिने गरेका छन्। यो १० वर्ष अघिको तथ्याङ्क होl यसका लागि देशभर ३२ वटा अवैध बाटा र भारत-चीन सीमाका १४ वटा नाका पहिचान भएका छन्। भारतमा तान्त्रिक र चीनमा परम्परागत औषधिको लागि यिनको अत्यधिक प्रयोग हुने गरेको छ। खुल्लम खुला हुने यस्तो व्यापारमा कमी आए पनि रोकिएको छैन।
सन् २००८ मा लमजुङमा ‘लाटोकोसेरो पाल्न पाइँदैन र, पाइन्छ होला’ भन्ने डिभिजन वन कार्यालयले त्यसपछि थुप्रै लाटोकोसेरो र हुचिलको उद्धार गरेर सकारात्मक परिवर्तन भएको सङ्केत गरिसकेको छ। डिभिजन वन कार्यालय काठमाडौँले पनि थुप्रै उद्धार र पुनर्स्थापन गरेको छ।
तर पुनर्स्थापनाको नाउँमा फोटो खिचेर जबर्जस्ती सेलिब्रेटी हुने चलन पनि बढ्दो छ। यो चराको हितमा छैन।
यिनको अनुसन्धान र संरक्षणमा ठूला गैरसरकारी संस्था मौन बस्नु बुझी नसक्नु छ। तर नेपाल सरकारले तयार पार्दै गरेको लाटोकोसेरो कार्ययोजनाले यी चराहरूको संरक्षणमा नेपाल सरकार लागेको प्रस्ट हुन्छ।
लाटोकोसेरो के हो?
चराहरू भन्ने बित्तिकै प्वाँख भएका, दुई खुट्टे उड्न सक्ने जीवलाई बुझिन्छ। संसारभर पाइने करिब १० हजार ५० प्रजातिका चराहरूमध्ये हालसम्म नेपालमा ८ सय ८७ प्रजातिको अभिलेख गरिएको छ। लाटोकोसेरो पनि चरा हो।