सोमपालको  ग्लोबल टी-२० मा बिर्सनलायक डेब्यू

तस्बिरः बिएल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीकोअन्तर्राष्ट्रिय फ़्रेन्चाइज टी-२० को डेब्यू राम्रो हुन सकेन।

क्यानडामा जारी ग्लोबल टी-२० मा विनिपेग हक्सबाट अन्तर्राष्ट्रिय टि-२० फ्रेन्चाइज लिगमा डेब्यू गरेका सोमपालले ब्याटिङ र बलिङ दुवैतर्फ पाएको अवसर सदुपयोग गर्न सकेनन्।

एडमन्टन रोयल्सविरुद्ध पहिलो ब्याटिङको निम्तो पाएको हक्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९५ रन जोड्यो।

हक्सका लागि शाइमन अनवरले ३५ बलमा ६२ तथा कप्तान जेपी ड्युमिनीले ३१ बलमा नटआउट ४८ रङ जोडे।

१८ औं ओभरको अन्तिम बलमा कलिम साना आउट भएपछि क्रिजमा आएका सोमपालले कुल ५ बलको सामना गर्दै १ रनमात्र जोड्न सके। सोमपालले ३ डट खाएपछि १८ औं ओभरमा जिमी निशमले जम्मा ३ रन खर्चेका थिए ।

जवाफमा रोयल्सले जम्मा २ विकेटको क्षतिमा १७.४ ओभरमै खेलमा सहज जित दर्ता गर्‍यो ।

सोमपालले २ ओभरमा ३३ रन खर्चिएर कुनै विकेट लिएनन्। खेलको १० औं ओभर बलिङ गरेका सोमपालले पहिलो ओभरमा १५ रन खर्चिए।

पाकिस्तानी ब्याट्सम्यान मोहमद हाफिजले सोमपालको दोस्रो बलमा छक्का प्रहार गरेका थिए। साथै अन्तिम २ बल गर्ने क्रममा ३ वाइड फ्याँकेका थिए।

त्यसपछि १६ औं ओभर भने सोमपालका लागि झनै महँगो सावित भयो।

हालैको विश्वकपमा न्युजील्याण्डका लागि उत्कृष्ट प्रदर्शन गरेका जिम्मी निशामले दोस्रो बलमा छक्का प्रहार गरे भने हङकङका खेलाडी अंशुमन रथले चौथो बलमा चौका र पाचौं बलमा छक्का प्रहार गरेका थिए।

उनले यस ओभरमा १८ रन सहित २ ओभरमा कुल ३३ रन खर्चिए।

रोयल्सका लागि अन्शुमनले ५० बलमा ८७ रन जोडे। उनले ९ चौका र ३ छक्का प्रहार गरेका थिए । उनी खेलको म्यान अफ द म्याच बने ।

विन्नीपेगको प्रतियोगितामा तेस्रो हार हो भने ५ खेलमा २ खेलमा जित हासिल गर्दै ४ अंकसहित रोयल्स अहिले अंक तालिकाको चौथो स्थानमा छ।

यसअघि सतप्रतिशत जित निकाल्ने क्रममा ब्रम्पटन वोल्भ्सले टोरन्टो नेशनललाई हराउँदै शीर्ष स्थानमा कायमै छ।

 

प्रकाशित मिति: : 2019-08-04 06:41:39

प्रतिकृया दिनुहोस्