बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्राह्माण्डीय महायज्ञ’ को तयारी थालिएको छ।
पवित्र मुक्तिक्षेत्र, शालग्रामबाहिनी कृष्णगण्डकी तट र अन्नपूर्ण, धौलागिरि हिमशृङ्खलाको काखमा अवस्थित प्रसिद्ध पञ्चकोट धाममा मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा आगामी फागुन ९ देखि २२ गतेसम्म सो महायज्ञ गर्न लागिएको हो।
पञ्चकोट धाम स्थापनाको १०औँ वार्षिकोत्सव पारेर आयोजना गर्न लागिएको यस महायज्ञबाट वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि, सनातन संस्कृतिको संरक्षणका साथै नेपालको धार्मिक पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
महायज्ञका परिकल्पनाकार एवं पञ्चकोटधामका संस्थापक स्वामी कमलनयनाचार्यले प्रसिद्ध मुक्तिक्षेत्र र शालग्रामको महिमालाई विश्वस्तरमा पुर्याउन, गोवंशको संरक्षणार्थ वैदिक सनातन हिन्दू समाजलाई प्रेरित गर्न, नेपालको जलसम्पदाको संरक्षण गर्न र वैदिक सनातन हिन्दू धर्मको रक्षा गरी नैतिक, समुन्नत र सच्चरित्रवान नेपाली समाजको पुनर्जागरण गर्न नेपालमै पहिलोपटक ब्रह्माण्डीय महायज्ञको आयोजना गरिएको जानकारी दिएका छन्।
महायज्ञको अर्काे प्रमुख उद्देश्य जलसम्पदा संरक्षणको सन्देश विश्वव्यापीरुपमा दिनका लागि जल संरक्षणको प्रतिकस्वरुप पञ्चकोटमा निर्माणाधीन विश्वशान्ति गण्डकी कलशको निर्माणलाई पूर्णता दिने र यस यज्ञबाट बाँकी रहेको रकम पञ्चकोटको सर्वाङ्गीण विकासमा प्रयोग गरिने पनि रहेको उनले बताएका छन्।
स्वामी कमलनयनाचार्यले भने, “विभिन्न तत्वबाट एक ब्रह्माण्डको निर्माण हुन्छ र ईश्वरको सङ्कल्पले मात्र पृथ्वीजस्ता अनन्तकोटी ब्रह्माण्डको सृष्टि हुन्छ। त्यसैले हरेक तत्वका अधिष्ठाता यस ब्रह्माण्डका सबै देवीदेवतालाई कलशमा आह्वान गरी पूजन र यजन गरिने भएकाले यो अनन्तश्री ब्रह्माण्डीय महायज्ञ हो। यस्तो महायज्ञ विश्वकै ठूलो र पहिलोपटक हुँदैछ। यस यज्ञको अनुष्ठान गरी प्रत्यक्ष सहभागी हुनेहरुको मनको सङ्कल्प हुने पूरा भएकाले सहभागी हुन म सबैलाई आह्वान गर्दछु।”
महायज्ञ आयोजनाबाट सङ्कलन भएको रकमबाट पञ्चकोटमा विश्वशान्ति कलश निर्माणसँगै यस पञ्चकोट धाममा निर्माण थालिएका धार्मिक संरचना पूरा गरिनेछ।