एकै दिन नार्कका २४ कार्यालयको त्रैमासिक समीक्षा गोष्ठी

नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गतको विभिन्न कार्यालयहरुको आर्थिक वर्ष २०८०/०८१ को प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठी आज सम्पन्न भएको छ।

बागमती प्रदेश (काठमाडौँ उपत्यका) स्थित विभिन्न कार्यालयहरुको प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको हो। नार्कको केन्द्रीय कार्यालय खुमलटारमा आजै तीन सत्रमा कार्यक्रम आयोजना भएको थियो।

राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान तथा राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान खुमलटार, ललितपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो।

कार्यक्रममा काठमाडौँ उपत्यकाका २४ वटा कार्यालयहरुले आफ्नो तीनमहिने त्रैमासिक प्रगति विवरणसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए। 

प्रतिवेदनमा पहिलो त्रैमासिकमा सम्पन्न भएका चालु र पुँजीगत कार्यक्रमहरु, वितीय प्रगति, बेरुजुको अवस्थालगायतका विषयहरु समेटिएका थिए। गोष्ठीको अध्यक्षता नार्कका योजना तथा समन्वय निर्देशक डा.लुमानिधि पाण्डेले गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक पाण्डेले मन्त्रालय र नार्कका निर्देशनहरुको पालना गर्दै सम्पूर्ण कार्यक्रम र बजेटको खर्च यथासमयमा नै सम्पन्न गर्न निर्देशन दिए। खर्च हुन नसक्ने रकमलाई समयमै अभ्यर्पण गरी बजेट व्यवस्थापन र परिचालनमा ध्यान दिनुपर्ने आवश्यक रहेको बताए।

यसैगरी गोष्ठीमा नार्कका पशु तथा मत्सय अनुसन्धान निर्देशक डा. दोजराज खनाल, राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक विनेशमान साखः, राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठानका निर्देशक डा. स्वयमप्रकाश श्रेष्ठ, आर्थिक प्रशासन निर्देशक मनसकुमार कँडेल लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा नार्कका विभिन्न अनुसन्धान केन्द्रका प्रमुखहरु, कार्यक्रम संयोजकहरु, महाशाखा प्रमुखहरु, वैज्ञानिकहरु, योजना अधिकृत तथा प्राविधिकहरुको समेत सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरुलाई नार्कका अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख डा.सुधा सापकोटाले स्वागत तथा कार्यक्रमको उदेश्य बारेमा प्रकाश पारेकी थिइन्।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले पहिलो त्रैमासिकमा भएको कार्यक्रम र खर्चलाई हेर्दा उपत्यका भित्रका कार्यालयहरुको प्रगति सन्तोषजनक रहेको बताए। उपत्यका बाहिरका कार्यालयहरुको त्रैमासिक प्रगति समीक्षा सोमबार भर्चुअल माध्यमबाट सातै प्रदेशमा एकैसाथ हुने उनले बताए।

प्रकाशित मिति: : 2023-11-05 17:27:00

प्रतिकृया दिनुहोस्