राष्ट्रिय प्रजातन्त्र पार्टी आँबुखैरेनी गाउँ कार्यसमितिले जाजरकोट भूकम्पपीडितका लागि राहत सङ्कलन गरेको छ। सो पार्टीले आज आयोजना गरेको भेटघाट तथा शोकसभाबाट भूकम्पपीडितका लागि राहत सङ्कलन गरेको हो।
उक्त कार्यक्रममा सहभागी पार्टीका नेता तथा कार्यकर्ताबाट रु ४६ हजार एक सय ३५ सङ्कलन भएको सो पार्टीका नेता मनोजकुमार श्रेष्ठले जानकारी दिएका छन्। उक्त रकम पार्टीले पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमार्फत सरकारी कोषमा सहयोग गर्ने श्रेष्ठले बताएका छन्।
नेता श्रेष्ठले भने, “पार्टीले आयोजना गरेको भेटघाट तथा शोकसभामा उपस्थिति सबैले आफूले सकेको रकम सहयोग गर्नुभएको हो। सबैले थोरै–थोरै रकम जुटाउन सकिए धेरै हुन्छ। हामीले पनि सकेको गर्यौँ।”
सो कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष मिश्रले देश आज शोकको घडीमा रहेकाले यो विपद्को अवस्थामा सरकारलाई पार्टीका तर्फबाट सहयोग रहने बताएका छन्। भूकम्पपीडितको राहत र उद्धार पहिलो प्राथमिकता रहेको बताउँदै उनले सरकारलाई यस कामका लागि पार्टीका तर्फबाट पूर्ण सहयोग रहने उल्लेख गरेका छन्।