सङ्घीयतामा जनताले विकासको अनुभूति गरेका छन्: मुख्यमन्त्री कार्की

File photo
File photo

कोशी प्रदेशका मुख्यमन्त्री हिक्कमतकुमार कार्कीले सङ्घीयतामा जनताले विकासको अनुभूति प्राप्त गरेको बताएका छन्।

नेपाल समाजशास्त्र सङ्घ काठमाडौँ र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरद्वारा आज  आयोजित ‘नेपालमा सङ्घीयता : अवसर र चुनौती’ विषयक अन्तक्र्रियामा उनले भने, 'सङ्घीयता स्थापनापछि प्रदेशमा एक सय ५० संरचना निर्माण गरी इतिहास कायम गरेको छ।' मुख्यमन्त्री कार्कीले प्रदेश सरकार स्थापनापछि पाँच वर्षको अवधिमा बहुवर्षे आठ सय किलोमिटर सडक कालोपत्र भएको र आगामी दुई वर्षभित्र थप तीन सय किलोमिटर कालोपत्र हुने जानकारी दिए।

नेपालका लागि सङ्घीयता आवश्यक रहेको बताउँदै उनले सङ्घीयताको अभ्यासलाई व्यवहारिक बनाउनुपर्नेमा जोड दिए। मुख्यमन्त्री कार्कीले सङ्घीयतामा संविधानले प्रत्याभूत गरेको अधिकार प्रदेशलाई दिनुपर्ने बताउँदै सरकार जनताप्रति उत्तरदायी भएको धारणा राखे। उनले सङ्घीयताको उपलब्धिका रूपमा रहेको शान्ति, सुरक्षा सुदृढ र जनताले सुरक्षाको अनुभूति गरेको विचार राखे।

मुख्यमन्त्री कार्कीले भने, 'केन्द्रले सङ्घीयता कार्यान्वयनमा उदार भएमा विकास, सुरक्षामा उल्लेखनीय र गुणात्मक सुधार हुनेछ।' गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले जनताले रोजगारी, समृद्धिमा सङ्घीयताको अनुभूति गर्न सक्ने धारणा राखे।समाजशास्त्रका उपाध्यक्ष विश्वकल्याण पराजुलीले जनताको समावेशी समानुपातिक प्रतिनिधित्वले सङ्घीयता बलियो हुने विचार राखे।

प्रकाशित मिति: : 2023-03-23 18:09:00

प्रतिकृया दिनुहोस्