उद्योगी व्यवसायीलाई ओलीको आग्रह - आत्महत्या जस्तो कायरतापूर्ण काम नगर्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योगी व्यवसायीलाई आत्महत्या जस्तो कायरतापूर्ण काम नगर्न आग्रह गरेका छन्।

नेपाल उद्योग परिसंघ प्रदेश १ ले आयोजना गरेको सीएनआई कोसी एक्स्पो २०२३ को उद्घाटन गर्दै उनले हरेक मानिसको जीवनमा संकट आउने भएकाले त्यसको डटेर समाधान गर्नुपर्ने बताए।

ओलीले उद्योगी व्यवसायीहरुको प्रतिकूल अवस्था छ भन्दैमा आत्महत्याको बाटो रोज्नु नहुने बताए। आफू जीवनमा ठूलो कष्ट सहेर यहाँसम्म आइपुगेको बताउँदै उनले भने, 'म पनि डेढ महिनासम्म चिसो भुइँमा सुतेर बसेको मान्छे हो। मलाई कुनै ओढ्ने ओछ्याउने केही दिदैनथे। खाली पुलिसले बुटले हान्थ्यो। त्यस्तो अवस्थामा पनि मैले आत्महत्याको बाटो रोजिन।' 

१४ वर्ष जेलनेल भागे पनि देशका लागि केही गर्छु भन्ने अठोटले आत्महत्याको बाटो नरोजि परिस्थितिको सामना गरेको उनले बताए।

'व्यवसाय गर्ने मान्छेहरू कहिले लडिन्छ, कहिले ढलिन्छ, कहिले घाटा-नाफा हुन्छ,' ओलीले भने, 'तर आत्तिएर मात्र केही हुँदैन, धैर्य गर्नुपर्छ।' 

पछिल्लो समय उद्योगी व्यवसायीले नै आत्महत्याको बाटो रोज्नुपर्छ भनेजस्तो तरिकाले चर्चा गर्न थालेको बताउँदै ओलीले भने, ' यस्ता खाले सन्देशले मानिसहरूमा गलत खालको उत्प्रेरणा जानसक्छ। तपाईंहरुले नै कमसेकम यस्तो चर्चा नगरिदिनुहोस्। प्रतिकूल अवस्थामा संघर्ष गर्न सिक्नुपर्छ।' 

परमादेशी सरकारले १८ महिनासम्म अर्थतन्त्र ध्वस्त पारेको उनले आरोप लगाएका छन्। अहिलेको सरकारले अर्थतन्त्रलाई सही बाटोमा डोर्‍याउने र व्यवसायीमा उर्जा थप्ने ओलीको भनाई छ।

विराटनगर उद्योगको शहरका रुपमा चिनिए पनि पछिल्लो समय उद्योगहरुको विकास हुन नसक्नु दुखद भएको उनले बताए।

कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश संरचनाका विषयमा गलत टिप्पणी सुरु भएको भन्दै प्रदेशका राम्रा कामहरूको प्रचार गर्न आग्रह गरेका छन्। उनले प्रदेश सरकार उद्योगीहरुसँग मिलेर काम गर्न तयार रहेको बताए। 

यस्तै संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगी व्यवसायीका सबै समस्याहरु क्रमैसँग समाधान गरिने र त्यसका लागि सरकार अग्रसर रहेको बताए।

उद्घाटन समारोहमा परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरेले समग्र उद्योगी व्यवसायीका समस्या राखेका थिए।

प्रकाशित मिति: : 2023-02-02 19:53:00

प्रतिकृया दिनुहोस्