पूर्वाञ्चल विश्वविद्यालयमा अब २४ सै घण्टा स्वास्थ्य सेवा : सुनिल शर्मा 

फाइल तस्बिर
फाइल तस्बिर

मोरङ क्षेत्र नं ३ का नवनिर्वाचित प्रतिनिधीसभा सांसद डा.सुनिल शर्माले पूर्वाञ्चल विश्वविद्यालयलाई अब नयाँ ढंगबाट सञ्चालन गर्न आफू लागि पर्ने बताएका छन्।

सोमबार मोरङको गोठगाउस्थित पूर्वाञ्चल विश्व बिद्यालयको सभा हलमा आयोजित पत्रकारहरुसँग सांसद शर्माले यस्तो बताएका हुन्।

उनले आफू यस क्षेत्रबाट निर्वाचन भएलगत्तै विश्वविद्यालयलाई नयाँ व्यवस्थापन र योजना बनाएर सञ्चालन गर्ने विषयमा सम्बन्धित व्यक्तिहरुसँग सल्लाह गरिरहेको बताए।

विगतमा दिनको १० बजेदेखि १२ बजेसम्म मात्रै स्वास्थ्य सेवा सुचारु गरेको विश्वविद्यालयलाई माघ महिनादेखि २४ सै घण्टा सञ्चालनमा ल्याउने गरी सहमति भइसकेको उनले बताए।

निर्वाचन जितेर गइसकेपछि मतदाताहरुसँग गरेको बाचा अनुरुप विश्वविद्यालयलाई पहिलो चरणमा ९ देखि ५ बजेसम्म सुचारु गरिने र दोश्रो चरणमा रात्रिकालीन सेवा हुँदै २४ सै घण्टा सेवा उपलब्ध गराउने विषयमा कुराकानी भइरहेको बताए।

विश्वविद्यालयमा दक्ष चिकित्सकको अभाव भएमा आफ्नो मेडिकलबाट भएपनि चिकित्सक ल्याएर सेवा सुचारु गर्न तत्पर रहेको उनले सुनाए।

विश्वविद्यालयका भिसि यादव प्रसाद कोइरालाले पनि सो क्षेत्रमा मेडिकल कलेज सञ्चालनको बिषयमा सांसद शर्मासग चर्चा गरेका थिए। उक्त क्षेत्रमा मेडिकल कलेज सञ्चालनमा आए यहाँका विपन्न विद्यार्थीहरुले स्वास्थ्य शिक्षा सम्बन्धी उच्च ज्ञान हासिल गर्न महँगो शुल्क तिरेर काठमाडौं लगायत देश बाहिर जान पर्ने बाध्यताको अन्त्य हुने उपकुलपति कोइरालाको भनाइ छ।

योसंगै विश्वविद्यालय परिसरमै स्वास्थ्य सेवालाइ बिस्तार गर्न सके मोरङका ग्रामिण भेगका बिरामीहरुले स्वास्थ्य सम्बन्धी सेवाहरु पाउने छन्। यता सो क्षेत्रका स्थानीयहरु पनि अब विश्वविद्यालय भित्र उचित स्वास्थ्य सेवा पाउनेमा विश्वस्त देखिएका छन्। 

क्षेत्र नं ३ बाट डा.शुनिल शर्माले सांसद जिते लगत्तै विश्वविद्यालय सुधार हुनुका साथै स्वास्थ्य सेवा पनि बिस्तार हुनेमा विश्वस्त रहेका छन्।

प्रकाशित मिति: : 2022-12-05 19:25:00

प्रतिकृया दिनुहोस्