दाङको रेडियो बंगलाचुलीमा तोडफोड 

दाङको बंगलाचुली गाउँपालिकामा रहेको रेडियो बंगलाचुलीमा लोडफोड हुनुका साथै कर्मचारीमाथि हातपात भएको छ। 

सोमबार दिउँसो साढे १ बजे एमालेका कार्यक्रताले रेडियोमा तोडफोड गर्नुका साथै कर्मचारीमाथि हातपात गरेको रेडियोका प्रमुख जीवन नेपालीले जानकारी दिए।

बिएल नेपाली सेवासँग कुरा गर्दै समाचारको विषयलाई लिएर भन्दा पनि अन्य विषयलाई लिएर रेडियोमा आक्रमण भएको प्रमुख नेपालीले बताए। थप विषय पछि खुलाइने उनको भनाई छ।

यसैबीच प्रेस सेन्टर नेपाल, दाङ शाखाले रोडियोमा तोडफोड र कर्मचारीमाथि भएको आक्रमणको विरोध गरेको छ भने आक्रमण गर्नेलाई कार्वाही गर्न माग गरेको छ। 

अध्यक्ष पाण्डप शर्मा र सचिव जनक नेपालीले विज्ञप्ति जारी गर्दै सञ्चार माध्यम र उत्पादित समाचार तथा कार्यक्रममा चित्त नबुझेमा कानुनी उपचार हुँदाहुँदै आक्रमण गर्नु निन्दनीय विषय रहेको भन्दै दोषिलाई कडा कार्वाहीको माग गरेका छन् ।

विज्ञप्तिमा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य भेषराज खत्री तथा एमालेका कार्यक्रता धनेश्वर भण्डारी, पूर्णबहादुर थापा, जागेशवर रावत, लितक विक, दिलबहादुर डाँगी, धनराज परियारसहित करिब ५० जनाको समूहले रेडियोमा आक्रमण गरेको जनाइएको छ।

तर नेपाल पत्रकार महासंघ दाङले जारी गरेको विज्ञप्तिमा एक समुहले आक्रमण गरेको जनाइएको छ।

अध्यक्ष दुर्गालाल केसी, सचिव आरके सितलले जारी गरेको विज्ञप्तिमा रेडियोमा तोडफोड गरेको, कार्यालयको आन्तरिक कागजपत्र च्यातेको, सञ्चारकर्मीलाई लछारपछार गरेको बताइएको छ।

महासंघको विज्ञप्तिमा सञ्चारमाध्यम र पत्रकारलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिनु प्रेस स्वतन्त्रता विरोधी कार्य भएको भन्दै सबै पक्षलाई सचेत रहन आग्रह गरिएको छ।

एमाले दाङका सचिव मनोहार बुढाथोकीले एमालेका कुनै पनि कार्यक्रताको तोडफोडमा संलग्नता नरहेको बताए।

बंगलाचुली गाउँपालिकादवारा सञ्चालित रेडियो बंगलाचुली ९१ दशमलव ७ मेघाहार्ज बंगलाचुली गाउँपालिका ३ स्थित कमिचौरबाट सञ्चालित छ।

प्रकाशित मिति: : 2022-12-05 18:16:00

प्रतिकृया दिनुहोस्