चुनावपछि रोजगारी खोज्दै भारत जाने बढे

फाइल तस्बिर
फाइल तस्बिर

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना अन्तिम चरणमा छ।

मतगणना सकिएर राजनीतिक दलबीच नयाँ सरकार बनाउन रस्साकस्सी चलिरहेका बेलामा यहाँका युवाहरु भने रोजगारीको खोजीमा भारत जान थालेका छन्।

चुनावको रौनक सकिएसँगै सिङ्जा क्षेत्रका गाउँमा पुरुषको सङ्ख्या घट्न थालेको सिङ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालको भनाइ छ।

'स्थानीय स्तरमा रोजगारीको अवसर छैन' उनले भने, 'गाउँबाट अध्ययन र रोजगारीका लागि भारत जानेको सङ्ख्या बढेसँगै गाउँमा पुरुषको सङ्ख्या पातलिन थालेको हो।' हिउँदेयाम लागेसँगै घरखर्च जुटाउन यहाँका युवाहरु भारत जान बाध्य भएको उनको भनाइ छ।

यहाँका प्रायजसो युवादेखि वृद्धसम्मका धेरै जसो व्यक्तिहरु रोजगारीको खोजीमा भारत जाने गरेको तिला गाउँपालिका–१ का स्थानीयवासी विशल बुढाको भनाइ छ।

स्थानीयस्तरमा रोजगारी नपाइने र कृषि पेसाका लागि हिउँदे याममा बढी जाडो हुने भएकोले मङ्सिरदेखि फागुन महिनासम्म भारतका विभिन्न स्थानमा व्यापार गर्नेदेखि काम गर्नेहरु बढी हुने यहाँका स्थानीयवासी बताउँछन्। 

रोजगारीका लागि ठूला सहर तथा भारततिर गएका युवा खेतीपातीको सिजन सुरु भएपछि मात्रै जुम्ला फर्कने गर्दछन्। जुम्लाबाट रोजगारीको खोजीमा विशेष गरी भारतको उत्तराञ्चल, हिमाञ्चल लगायतका क्षेत्रमा जाने गरेका छन्। 

सिङ्जाका बाढी पीडितलाई राहत वितरण

जुम्लाको सिङ्जा क्षेत्रमा पर्ने तीन स्थानीय तहका तीन सय ७० घरधुरीका बाढी पीडितलाई राहत वितरण गरिएको छ। 

कनकासुन्दरी गाउँपालिकाका एक सय ५० घरधुरी, हिमा गाउँपालिका एक सय २० घरधुरी र सिङ्जा गाउँपालिकाभित्रका एकसय घरधुरीलाई राहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए। 

गत असोज महिनाको अन्तिम सातामा परेको अविरल वर्षासँगै आएको बाढीपहिराले सिङ्जा भेगका तीन पालिका सबैभन्दा धेरै धनजनको क्षति भएको थियो।

सरकारले सिङ्जा क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो। सो क्षेत्रका बाढीपहिरो प्रभावित घरधुरीलाई प्लान इन्टरनेशनल नेपालको सहयोगमा त्रिपाल, कम्बल, झुल, पीफम, लेम्प, डोरीसहित राहत सामग्री वितरण गरिएको पेस नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले बताए। 

प्रकाशित मिति: : 2022-12-03 21:21:00

प्रतिकृया दिनुहोस्