शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद : प्रम देउवा

file Photo
file Photo

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा पार्टीका तर्फबाट सबैलाई धन्यवाद दिएका छन्।  

सभापति देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज सम्पन्न मतदानमा देशभर अत्यन्त उत्साहपूर्ण रूपमा मतदान भएको उल्लेख गरेका  छन्। 

संविधानसभाबाट संविधान जारी भएपछिका दिनमा संविधानको रक्षा र लोकतान्त्रिक पद्धतिको विकासका लागि आम नेपालीले जिम्मेवारीपूर्वक आफ्ना भूमिका निर्वाह गर्दै आएका छन्।

यो आम निर्वाचनमा नेपाली जनताले आफ्नो नागरिक अधिकारको प्रयोग गरिरहँदा दशकौँंदेखिको लोकतन्त्रप्रतिको साधना र समर्पण फेरि एकपटक उजागर भएको सभापति देउवाले बताएका पार्टीका मुख्यसचवि कृष्णप्रसाद पौडेलले आज जारी गरिएकाे विज्ञप्तिमा उल्लेख छ। मतदानमा भएको यो उत्साहपूर्ण सहभागिताले नेपाली नागरिकका मनमा रहेको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको सभापति देउवाको भनाइ छ।
  
आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य शर्त भएको उल्लेख गर्दै कांग्रेसले  निर्वाचनबाट आउने परिणामले मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास पनि प्रधानमन्त्री देउवाले लिएका छन्। निर्वाचनमा अत्यन्त उत्साह, संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्ने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति उहाँले हार्दिक आभार एवं कृतज्ञता व्यक्त गरेका छन्।

निर्वाचनमा मतदाताको सक्रियता र उत्साहपूर्ण सहभागिताका साथ अमूल्य मत खसालेका सरकार र राजनीतिक दललाई थप प्रेरणा दिएको कांग्रेसको भनाइ छ । निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न ठूलो योगदान पु¥याएको छ।

शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन सफल भएकामा निर्वाचन आयोग, निर्वाचन सफल गराउन अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी र सुरक्षा निकाय, निर्वाचनमा सहभागी राजनीतिक दल, सञ्चारकर्मी एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकप्रतिलाई सभापति देउवाले विशेष धन्यवाद दिएका छन्। 

यसैगरी प्रधानमन्त्री देउवाले आज साँझ ट्वीट गर्दै देशभर शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएकोमा निर्वाचन आयोगलाई विशेष धन्यवाद दिदैँ निर्वाचन सफल बनाउने कार्यमा खटिने कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पर्यवेक्षक, सञ्चारकर्मीलगायतलाई पनि धन्यवाद दिए। 

‘निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। यसका लागि निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु। साथै निर्वाचन सफल गराउन अहोरात्र खटिनुभएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी र पर्ववेक्षकहरूमा धन्यवाद तथा आभार व्यक्त गर्दछु’ , प्रधानमन्त्रीले ट्वीटमा लेखेका छन्।

प्रकाशित मिति: : 2022-11-20 20:14:00

प्रतिकृया दिनुहोस्