सप्तरीका सबै निर्वाचन स्थलमा निर्वाचन सामग्री पुगिसके : मुख्य निर्वाचन अधिकृत

File photo
File photo

मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले सप्तरीका सबै मतदानस्थलमा निर्वाचन सामग्री पुगिसकेको जानकारी दिएका छन्। भाेलि हुने निर्वाचनका लागि जिल्लाका २९७ वटै मतदानस्थलमा आवश्यक सामग्री पुगिसकेकाे छ। अहिले मतदानका लागि बुथ निर्माण भइरहेकाे उनले बताए।

'महिला, पुरुष र अशक्त अपांगताका लागि सहज रूपमा मतदान गर्ने वातावरणका लागि बुथ निर्माण गर्न सबै मतदान अधिकृतलाई निर्देशन दिएको उनले बताए। सबैलाई सहज हुनेगरी बेलुकासम्म बुथ तयार भइसक्ने उनको भनाइ छ। उनले भने,´भाेलि मतदान सकिएसँगै मतगणना सुरु गर्ने तयारी थालिएकाे छ।'

यता, शान्तिपूर्वक भयरहित वातावरणमा मतदान सम्पन्न गराउन सबै सुरक्षा व्यवस्था मिलाइसकेको सप्तरीका प्रहरी प्रमुख अविनारायण काफ्ले बताए। उनले मौन अवधिमा निर्वाचन आचारसंहिता विपरीत काममा प्रयोग भएका एक थान स्कारपियो गाडी सप्तकोशी नगरपालिकाबाट नियन्त्रणमा लिएको जानकारी दिए।

जिल्लाका सबै मतदान स्थलको सुरक्षा व्यवस्था कडा गरिएको  छ, शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गराउन आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन समेत गरिसकेको काफ्लेको भनाइ रहेको छ।

सप्तरीमा २९७ मतदानस्थलमा ५३८ वटा मतदान केन्द्र छ। सुरक्षा विश्लेषणको आधारमा २०८ मतदानस्थललाई अति संवेदनशील, ८३ संवेदनशील र ४ वटालाई सामान्य तोकिएको छ।

एक हजार ६३७ नेपाल प्रहरी र तीन हजार २७८ म्यादी प्रहरी गरी कुल ४ हजार ९१५ जना सुरक्षाकर्मी मतदान स्थलमा खटाइएको छ भने नेपाली सेना पनि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-11-19 15:42:00

प्रतिकृया दिनुहोस्