गठबन्धनभित्र मत ‘ट्रान्सफर’ नहुँदा कसलाई नाफा, कसलाई घाटा ?

BreaknLinks
BreaknLinks

आम निर्वाचन संघारमा आइपुग्दा राजनीतिक वृत्तमा अनेकौँ चर्चा चल्न थालेको छ। सत्ता गठबन्धनबाट ‘९० सीट आफूले लिएको कांग्रेस’ सबैभन्दा बढी उत्साहित छ।

देशभर कम्तीमा ६० वटा प्रतिनिधि सभा सदस्य जित्नेमा कांग्रेसी नेता–कार्यकर्ताहरू ढुक्क देखिन्छन्। उम्मेदवारहरूले निर्वाचनपूर्वको विजयी हाउभाउ पनि देखाइरहेका छन्।

नेपाली कांग्रेसमाथि माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादीले पनि आ–आफ्नो मत थप्ने पक्का छ। यसले कांग्रेस उम्मेदवारहरूलाई चुनाव जित्न थप सहज हुनेछ।

तर, कांग्रेस उम्मेदवार बाहेक अन्य क्षेत्रमा कांग्रेसीजन कति इमान्दार देखिएलान्? राजनीतिक रंगमञ्चमा याे सबैभन्दा ज्वलन्त जिज्ञासा बनेको छ। गठबन्धनभित्रका पाँचवटै दलले कांग्रेसी मत पाउलान्? निर्वाचन परिणामबारे जताततै चिन्ता र चासो छ।

यदि, कांग्रेस नेता–कार्यकर्ताले आफ्ना उम्मेदवार नभएको क्षेत्रमा दया–माया देखाएनन् भने त्यहाँ एमाले हाबी हुने पक्का छ। ‘सूर्यवाला’ उम्मेदवारहरू विजयी हुने निश्चित छ।

कांग्रेसको मत अन्य पार्टीका उम्मेदवारलाई 'ट्रान्सफर' भएन भने एमाले उम्मेदवारहरूले सहजै जित्छन्। गठबन्धनको चिन्ता एमालेसँग मात्रै छैन। कतैकतै स्वतन्त्र र दलका चटके उम्मेदवारमाथि पनि उत्तिकै छ।

एउटा उदाहरणको लागि जुम्लामा माओवादीले गतिलो उम्मेदवार उठाएको देखिँदैन। गठबन्धनकी उम्मेदवार गोमा कुँवर जिल्लामा अलोकप्रिय देखिन्छन्। यसको फाइदा राजावादी युवा ज्ञानेन्द्र शाहीलाई हुनेछ। उनी ‘भाइरल म्यान’ हुन्। सामाजिक सञ्जालमा चर्को प्रचारप्रसार छ। अर्कातिर त्यहाँ एमाले कमजोर छ । 

अर्को दृश्य कास्कीतिर हेरौँ– गठबन्धनबाट श्रीनाथ बराललाई खडा गरिएको छ। तर उनीविरूद्ध बागी छन्, कांग्रेसका महादेव गुरुङ। गठबन्धनको किचलोबाट फाइदा एमाले उम्मेदवार विद्या भट्टराईलाई हुनेछ। यस्ता अनेकौँ चर्चा देशभर छन्। 

गत स्थानीय तहको निर्वाचनमा ‘एमाले–कांग्रेस’ले धेरै वडाध्यक्षहरू जितेको पक्कै हो। माओवादीले थोरै वडामा जितेको छ। ‘एस–जनमोर्चा’ त्योभन्दा कम झिनो वडामा निर्वाचित छन्। रमाइलो कुरा चाहिँ बहुमत वडा जित्दा पनि एमाले–कांग्रेसले पालिका प्रमुख हारेका धेरै वटा छन्। 

दलसँग युवा मतदाता सन्तुष्ट देखिँदैनन्। उनीहरू सामाजिक सञ्जालमा स्वतन्त्र उम्मेदवार खोज्दै हिँडिरहेका छन्। आमनिर्वाचनमा ‘दलदेखि दिक्क’ युवा–जमातले स्वतन्त्र भेटे भने स्वतन्त्रले जित्ने सम्भावना त्यत्तिकै छ।

निर्वाचनपूर्वकाे यस्तो दृश्य मतदानका बेला प्रकट भएपछि दलका उम्मेदवारहरूले नराम्रोसँग हार्नेछन्। संसदमा दर्जनौँ ‘स्वतन्त्र सांसद’ छिरेपछि सत्ता वरिपरि घुम्न खोज्छन्। दलीय व्यवस्थामा निर्दलीय चुरिफरी बढ्नेछ। पाँच वर्षसम्म एउटै सरकार हुने कामना स्वतन्त्रहरूले सहजै भत्काउन सक्छन्। 

आगामी पाँच वर्षपछि दल र दलका नेताहरूलाई जस्केलाबाट निस्केर राजनीतिमा छिरेकाहरूले हावाकावा खेलाउने सम्भावना पनि उत्तिकै छ। राजनीतिक दलका नेताहरू ७० वर्ष कटेपनि राजनीतिक उत्तराधिकारीतर्फ सकारात्मक नबनेको अवस्थामा दल बाहिरका उम्मेदवारहरुले अहिले 'युवा'को चर्चा चलाएका छन्। दलभित्रका युवाहरू दशकौंदेखि चाउरिएर प्रौढ बनेका हुन्। वर्तमान परिस्थिति आउनुमा मुख्य दलका मुख्य नेताहरू पनि उत्तिकै जिम्मेवार रहेको बताइन्छ। 

पहिले पनि तत्कालीन राजा ज्ञानेन्द्रले सरकारको नेतृत्व गरेपछि मोहम्मद मोहसिनलाई सरकारको प्रवक्ता बनाइएको थियो। उनी त्यसअघि राष्ट्रिय सभाको अध्यक्ष पनि बने। ज्ञानेन्द्र शाहको पालामा व्यवस्था दलीय भएपनि निर्दलीय व्यवस्थाका पक्षपाती मोहसिन सरकारका प्रवक्ता बनेका हुन्।

प्रकाशित मिति: : 2022-11-17 21:11:00

प्रतिकृया दिनुहोस्