म्याग्दीका ग्रामीण क्षेत्रमा यातायातको पहुँच र विप्रेषणबाट प्राप्त आम्दानीका कारण कङ्क्रिटका पक्की भवन निर्माण हुनेक्रम बढ्दै गएपछि परम्परागत ढुङ्गे घर पातलिँदै जान थालेका छन् भने खरले छाएका घर लोप भएका छन्।
डेढदशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा ढुङ्गा र खरले छाएर रातोमाटो र सेतो कमेरोलो पोतिएका घर बाक्लै देखिन्थे।
पर्यटकीय जिल्ला म्याग्दीमा विदेश र सहर बजारबाट जो कोही गाउँमा पुग्दा ती घरले मनै लोभ्याउने गर्थे। रैथाने सीप र स्रोतको प्रयोग गरी परम्परागत रूपबाट निर्माण गरिएका ती घरले धेरैलाई आकर्षित गर्ने गरेको पाइन्थ्यो।
उतिबेला गाउँमा यातायातको पहुँच पुगिसकेको थिएन। जब सडक विस्तार भएर गाउँमा यातायातका साधन पुग्न थाले तब रड र सिमेन्टको प्रयोग गरी गाउँमा पक्की घर निर्माणका क्रम बढेको स्थानीय बूढापाकाको भनाइ रहेको छ। सडकको प्रभावित पुराना परम्परागत घरमा परेको उनीहरुको बुझाइ छ।
परम्परागत घर र ढुङ्गे घर गाउँबाट विस्तारै ओझेलिँदै छन्। अहिले गाउँमा धमाधम सिमेन्ट र कङ्क्रिटका घर ठडिँदै गएका छन्। सक्नेले पक्की पिल्लर घर बनाएका छन् त न्यून वर्गका नागरिकले खर र ढुङ्गाको छानो हटाएर जस्तापाताले घर छाउन थालेका छन्। यसले पुराना मौलिक घर विस्तारै विस्थापित हुने अवस्थामा पु¥याएको छ।
म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटा, मालिका गाउँपालिका–७ बिम, रघुगङ्गा गाउँपालिका–६ पाखापानीलगायतका विभिन्न बस्तीमा पाँच वर्ष अगाडिसम्म गाउँका अधिकांश घर ढुङ्गा र केही खरले छाएका थिए। तर अहिले ती बस्तीमा पुग्यो भने सिमेन्टेड पक्की घर र विभिन्न रङका जस्तापाताले छाएर घर रङ्गीचङ्गी देखिन्छन्। कमेरो र रातोमाटोले पोतिएका घर कम पाइन्छन्।
गाउँमा सडक आएपछि गाउँलेले सहर बजारियाले जस्तो सिकेर परम्परागत घरलाई भत्काएर नयाँ स्वरूपमा बनाउन थालेको बगरफाँटका बेदप्रसाद उपाध्यायले बताए। उनले भने, ‘डेढदशक अगाडिसम्म गाउँमा धेरैजसो घर ढुङ्गा र खरले छाएका थिए, गाडी आउने बाटो पनि थिएन, अहिले ती सबै घर लोप भइसके।’
बेनी नगरपालिका–४ सिँगामा पनि करिब एकदशक अगाडिसम्म ढुङ्गे टन्नै थिए। तर अहिले ढुङ्गाका घरले भएका ठाउँमा ठूलाठूला कङ्क्रिटका घर ठडिएका छन्। सडक सिंगामान पुग्दा धेरैको घर ढुङ्गाले नै छाएको भए पनि अहिले धेरैजसोले पक्की भवन बनाउन थालेको स्थानीय केशव पौडेलले बताए।
उनले गाउँमा सडक आएपछि धेरै मानिसले बजारबाट सहजरूपमा घर निर्माण गर्ने सामान ल्याउनसक्ने भएपछि ठूलाठूला भवन बनाउन थालेको बताए। पौडेलले यहाँका धेरैजसो मानिस विदेश भएको हुँदा उनीहरूले गाउँमा परम्परागत घर र ढुङ्गाको घर विस्थापित गरी पक्की घर बनाउन थालेको जानकारी दिए।
विदेशमा कमाएको पैसा म्याग्दीमा धेरैजसो अनुत्पादक क्षेत्रमा नै खर्च हुने गरेको बैंक तथा वित्तीय संस्थाको तथ्याङ्क छ। घर, घडेरी र मोजमस्तीमा नै धेरैजसो पैसा खर्च हुने गरेको पाइएको छ। यहाँका मान्छे सबै विदेशमा छन्, विदेशमा कमाउने यहाँ ठूलाठूला घर बनाउने गरेका छन्, पहिलेको तुलनामा अहिले गाउँ निकै फरक भएको छ, दिनदिनै सिमेन्टका घर ठडिरहेका छन्, एक÷दुई वर्षमा यहाँ ढुङ्गाका घर पनि देख्न नपाइने स्थानीय बासिन्दाको अनुमान रहेको छ।
सडक सञ्जालले यो ठाउँ जोडिएपछि पुराना घर विस्थापित भएको स्थानीयको भनाइ छ। सहरी तथा भवन निर्माण आयोजना कार्यालय म्याग्दीकाअनुसार मानिस सजक र सचेत हुँदै गएको हुँदा नयाँनयाँ प्रविधि प्रयोग गरेर घर तथा भवन निर्माण गर्न थालेका छन्। परम्परागत घर भूकम्पीय दृष्टिकोणले केही जोखिम हुने जनाउँदै नागरिकले सचेतता अपनाएर पक्की भवन बनाउन थालेको बताइएको छ।