तिहारका लागि माटाका पाला बनाउन भ्याइनभ्याइ

पूर्वी नवलपरासीको कावासोती– ३ का ६० वर्षीय लक्ष्मण प्रजापतिले तिहारका लागि ३० हजार पाला बिक्री गरिसकेका छन्। हिन्दुहरूको दोस्रो महान पर्व तिहार नजिकिएसँगै माटोको पाला बनाउन उनलाई भ्याइनभ्याइ छ। तिहारमा बत्ती बाल्नका लागि पालाको प्रयोग गरिने हुँदा बजारको मागअनुसारका पाला तयार गर्नमा उनी व्यस्त छन्।

प्रजापति भन्छन्, ‘तिहारका लागि आवश्यक पालाको माग पूरा गर्न तीन महिना अगाडिदेखि नै पाला बनाउन सुरु गर्नुपर्छ। तिहारसम्ममा ५० हजार पाला बिक्री गर्ने लक्ष्य लिएको छु। आफ्ना बाबुबाजेले माटोका भाँडा बनाएको देखेर पनि सानै उमेरदेखि पाला बनाउन थालेको हुँ।’

पुर्खाको पेशालाई धान्दै प्रजापतिले विगत २५ वर्षदेखि व्यावसायिकरुपमा नै माटाका सामान बनाउँदै आएका छन्।‘सिजनअनुसार माटाका सामान बनाउँदै आएको छु। करिब चार लाख माटाका पालाको माग रहेको छ, तर बजार माग पूरा गर्न नसक्दा वीरगञ्जबाट समेत आयात गर्नुपर्ने बाध्यता रहेको छ,’ उनी भन्छन्।

उनका अनुसार जिल्लामा माटोका सामग्री बनाउने तीन जना मात्रै छन्। पाला, गमलालगायतका माटोबाट बन्ने विभिन्न सामान बनाउन आवश्यक माटो सहज उपलब्ध हुन नसक्नु नै माटाका सामग्री बनाउनेको प्रमुख समस्या रहेको प्रजापति बताउँछन्। बाबुबाजेबाट सिकेको पुख्र्यौंली पेशालाई व्यावसायिकरुपमा अगाडि बढाएको स्मरण गर्दै उनले बताए।

‘अहिले युवाले माटोलाई आकार दिन होस् वा माटोलाई छुन मन पराउँदैनन्। खाली समय बिताउँछन् तर कामलाई सम्मान गर्दैनन्, अब म पछि यही पेशालाई निरन्तरता दिने कोही छैन। यहाँ तयार भएका पालासहित माटोका अन्य सामग्री नारायणगढ, कावासोतीदेखि दुम्कीबाससम्म होलसेल र खुद्रामा बिक्री हुने गर्दछ,’ लक्ष्मणले भने।

प्रकाशित मिति: : 2022-10-22 13:34:00

प्रतिकृया दिनुहोस्