मकवानपुरको बकैया गाउँपालिका–१२ जितपुर भञ्ज्याङमा फास्ट ट्याक निर्माणका लागि राखिएका फलामका सामानहरू चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–२ बस्ने ३३ वर्षीय इन्द्रबहादुर विक, बकैया गाउँपालिका–१२ कोलखोप बस्ने २२ वर्षीय अविरल घलान, २४ वर्षीय दिनेश लामा बम्जन र ३२ वर्षीय नारायणबहादुर मोक्तान रहेका मकवानपुर प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार फलामको सामनहरू १२/१३ क्विन्टल बराबरको रहेको छ। फलामको सामनहरू चाेरी गरी ना ५ ख १४४३ नम्बरको जीपमा लिएर जाँदै गरेको अवस्थामा अस्थायी प्रहरी पोस्ट जितपुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
समान बाेकेकाे जीपलाई अगाडि बाटो देखाउँदै हिँड्दै गरेको बा ५५ च ८५०२ नम्बरको मोटरसाइकललाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
जीप, मोटरसाइकल नियन्त्रणमा लिएकाे र पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय हेटौँडा ल्याइएको प्रहरीले जनाएकाे छ।