दीपावलीमा माटोबाट बनेको पाला (दियो) को ग्राहक बढेपछि यस्तो पाला बनाउने कोहार समुदाय उत्साहित छन्। विशेषगरी तिहारलाई नै लक्षित गरी बनाइएको माटोको सामग्रीले राम्रो बजार लिएकामा उनीहरू हर्षित भएका हुन्।
रोहिणी गाउँपालिका–३ धकधईका ६५ वर्षीय कोइल कोहारले यस वर्षको दीपावलीमा ४० हजार गोटा बिक्री गर्ने गरी माटाका पाला तयार गरेका थिए। दीपावलीको अघिल्लो दिनसम्म अधिकांश पालाहरु बिक्री गरिसकेको उनले सुनाए।
दीपावलीबाट नै वर्षभरी पुग्ने खर्चको जोहो गर्नु पर्ने उनलाई बाध्यता छ। उनले पाला बिक्री गरेर नै चार गोन जति धान र रु २० हजार जति पैसा कमाएको बताए। उनले अब उमेर गइसकेका कारण पहिलाको तुलनामा धेरै कम पाला बनाउने गरेको बताए। '१४–१५ वर्षको उमेरदेखि नै माटोको भाँडा बनाउन सुरु गरेको हुँ', कोहारले भने, 'यसको बजार पहिलेभन्दा अहिले राम्रो छ।'
रोहिणी–३ मा रहेका ३२ कोहार परिवारलाई अहिले माटोका सामग्री पाला, घण्टी, कोसा, भुड्कीलगायतका सामग्री बिक्री गर्न भ्याइनभ्याइ छ। उनीहरू स्थानीय बजार मात्र नभई नारायणगढ, स्याङ्जा, पोखरासम्म माटोको सामग्री बिक्री गर्ने गरेको बताउँछन्।
कोइल जस्तै अर्को पुस्ता ३७ वर्षीय साधे कोहार अहिले त ग्राहकहरू घरमै समान किन्न आउने गरेको बताउँछन्। 'बनाउन मात्र धौ धौ हो, बजारलाई समस्या छैन', साधेले भने। छेउछाउमा काँचो माटोको पाला राखेका साधेले अहिले यसलाई पोल्न पनि बाँकी रहेको सुनाए। 'तिहार टाउकोमै आइसक्यो, बनाएर मात्र भएन, यसलाई बेच्नु पनि छ' उनले आफ्नो चिन्ता सुनाए।
बजार राम्रो रहे पनि अबका पुस्ता आफ्नो पराम्परागत पेशामा रम्न नसकेको अगुवा कोहारहरुको गुनासो छ। माटोको काममा लगानी बढी र आम्दानी कम भएपछि नयाँ पुस्ताले यो कलामा रुचि नदेखाएको कोइल बताउँछन्।
'भाँडा बनाउन माटो नै पाइन्न, जर्ना दाउराको पनि उस्तै समस्या छ। लगानी नै बढी आउँछ, त्यसैले म नै सायद यसको अन्तिम कलाकार हो' कोइलले गुनासो गरे।
माटोलाई सुन्दर आकृति दिन खप्पिस मानिने कोहार समुदाय विभिन्न समस्याले उत्तराधिकारीकै कारण यो कला गुमाउने अवस्थामा पुगेको छ। माटोबाट विभिन्न भगवान्, जनावरको आकृति, भुड्की, पालालगायतका सामग्री बनाउने यो समुदायका अधिकांश युवा पालाबाहेक अरु केही बनाउनै सक्दैनन्। आम्दानी नै कम भएको हुँदा वैकल्पिक पेशातिर लागेको उनीहरूको भनाइ छ।
कोहार समुदायलाई सबैभन्दा बढी समस्या माटो र जर्ना दाउराको रहेको अगुवा कोइल कोहार बताउँछन्। यो सिजनमा ४० हजार पाला बिक्री गर्ने लक्ष्य राखेका उनले जर्ना दाउराले लागत बढाएको सुनाए।
'बनाउन सके त जति पनि बिक्छ, बजारको कमी छैन तर भाँडा पकाउन दाउरा नै पाइन्न', कोहारले आफ्नो समस्या सुनाए। पन्ध्र वर्षको उमेरदेखि माटोसित खेल्दै आएका उनले स्थानीय तहको सहयोगको आश समेत गरे। 'अहिले प्रधानहरु आएका छन्, हाम्रा लागि जर्नाको व्यवस्था गरिदिए केही हुन्थ्यो कि', वृद्ध कोइलले भने।
लगानी बढी भए पनि यसैलाई आफ्नो पेशा बनाएका पनि केही कोहार समुदाय छन्। कोही दीपावलीमा मात्र त कोही बाह्रै महिना यही कामबाट आम्दानी गरी आफ्नो परिवार पालेका छन्। अन्ठाउन्न वर्षीयय रामदेव कोहार सिजनको रूपमा व्यापार गर्छन्। यो दीपावलीमा करिब ३० हजार पाला बेचेर चार गोन जति धान र रु २० देखि २५ हजार कमाउने उनको लक्ष्य छ। यसबाट र अन्य खेतीको उत्पादनबाट उनी आफ्नो परिवारको खर्च धान्ने मनस्थितिमा छन्।
उनीभन्दा अलि ठूलो कारोबारी राम किसुन कोहार छन्। उनले माटोको भुड्की बनाएर पोखरासम्म बजार फैलाएका छन्। विशेषगरी माटोको भुड्की र अन्य भाँडा बनाउन खप्पिस उहाँ यसैबाट आफ्नो परिवार चलेको सुनाउँछन्।
स्थानीय तहहरूले यस्ता पराम्परागत सीपलाई संरक्षण गर्न आवश्यक रहेको कोेहारहरूको भनाइ छ। स्थानीय सरकारले यस्ता सीपमूलक व्यवसायमा लगानी गरे नयाँ पुस्ता यसमा आकर्षण हुने सम्भावना पर्याप्त रहेको स्थानीयवासी महेश कोहारले बताए।
'यस्ता मौलिक पेशालाई व्यवस्थित र सीपमूलक बनाउनेतिर राज्यको ध्यान गए आफ्नो पेशा पनि संरक्षित हुने र जीवन निर्वाहका लागि विदेशिनु पर्ने समस्या हट्ने छ', महेशले भने। राधेश्याम विश्वकर्मा