तानसेन नगर सरकारद्वारा रेडक्रसलाई एम्बुलेन्स

तानसेन नगर सरकारले नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखालाई वि ग्रेटको एम्बुलेन्स दिएको छ।

नगरवासीको सेवा सुविधाको लागि नगर सरकारको ६० प्रतिशत र रेडक्रस पाल्पाको ४० प्रतिशत लगानीमा खरिद गरिएको एम्बुलेन्स नगर सरकारले रेडक्रसलाई दिएको हो।

नगर प्रमुख सन्तोषलाल श्रेष्ठ र निवर्तमान नगर प्रमुख अशोककुमार शाहीले एक औपचारिक कार्यक्रमका बीच संयुक्त रुपमा रेडक्रसलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।

गत आर्थिक वर्षको बजेटमा तानसेन नगरपालिकाले नगरवासीको सेवा र सहयोगका लागि रेडक्रस पाल्पालाई एक वटा एम्बुलेन्स दिने गरी बजेट विनियोजन गरेको थियो।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले नगरवासीको हितमा एम्बुलेन्स सञ्चालन गरिने बताए।

रेडक्रस पाल्पासंग सरसल्लाह गरेर के कस्तो तरिकाबाट नगरवासीहरुलाई सेवा सुविधा प्रदान गर्न सकिने विषयमा आधिकारीक रुपमा सम्झौता गरी कार्यान्वयन गरिने नगर प्रमुख श्रेष्ठले बताए।

कार्यक्रममा निवर्तमान नगर प्रमुख शाहीले तानसेन नगर भित्रका सुत्केरी, गर्भवती महिला, क र ख वर्गका अपांगताहरु, जेष्ठ नागरिक, गरिब, विपन्न परिवारलाई नगरभित्रका अस्पतालमा समयमा पुर्‍याउने उद्देश्यले एम्बुलेन्सको परिकल्पना गरिएको बताए।

एम्बुुलेन्स आएकाले अब तानसेनका जनताले परिकल्पना अनुसारको सेवा सुविधाा पाउने निवर्तमान नगर प्रमुख शाहीले जोड दिए।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पाल्पाका सभापति बुद्धिप्रसाद शर्माले पाल्पामा अहिलेसम्मकै उच्चस्तरीय, उच्च प्रविधि जडान भएको एम्बुलेन्स रेडक्रसले सञ्चालन ल्याएकोमा खुसी व्यक्त गरे।

बाटो पुगेको स्थानमासम्म २४ सै घण्टा एम्वुलेन्स सेवा प्रदान गर्ने सभापति शर्माले बताए। नर्स बस्ने सिट सहित अक्सिजनको लेवल घटाउने बढाउने उपकरणसमेत एम्बुलेन्समा जडान गरिएको छ।

प्रकाशित मिति: : 2022-10-21 16:36:00

प्रतिकृया दिनुहोस्