दाङमा तीन हजार बढी कर्मचारी र चार हजार सुरक्षाकर्मी 

File photo
File photo

दाङमा मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीन हजार बढी कर्मचारी र चार हजार बढी सुरक्षाकर्मी खटिदैछन्।

लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार जिल्लाभर तीन हजार सात सय २० जना कर्मचारी खटिदैछन्। 

जिल्लामा तीन प्रदेश र छ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १५३ मतदानस्थल र ४६५ मतदान केन्द्र रहेका छन्। जसमा निर्वाचन अधिकृतदेखि सहायक स्तरका कर्मचारी खटिदैछन्। 

प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख निर्वाचन अधिकृत नारायण प्रशाद भण्डारीले ४६५ निर्वाचन केन्द्रमा ४६५ जना मतदान अधिकृत र ४६५ जना नै सहायक मतदान अधिकृत खटिने जानकारी दिए। साथै अन्य सहायक स्तरका कर्मचारी र स्वयम सेवकसमेत खटिने भण्डारीले बताए। 

उनकाअनुसार निर्वाचनमा तीन हजार दुई सय कर्मचारी र बाँकी शिक्षकलाई मतदान केन्द्रमा खटाइने छ। 

चारहजार सुरक्षाकर्मी परिचालन 

मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दाङमा शान्ति सुरक्षा कायम गर्न चार हजार सुरक्षाकर्मी परिचालन हुँदैछन्। 

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विएले नेपाली सेवालाई दिएको जानकारी अनुसार सबै मतदान केन्द्रमा सेना, प्रहरी, म्यादी प्रहरी परिचालन गरिनेछ। 

चार हजार सुरक्षाकर्मी मध्ये एक हजार ९२० जना म्यादी प्रहरी दाङमा परिचालन हुँदैछन्। सुरक्षा संवेदनशीलतालाई हेरेर मतदान केन्द्रमा सुरक्षाकर्मी परिचालन गरिनेछन्। 

अति  संवेदनशील मतदान केन्द्रमा ३ प्रहरी र ९ म्यादी प्रहरी, संवदेनशील मतदान केन्द्रमा ३ प्रहरी र ६ म्यादी प्रहरी यस्तै सामान्य मतदान केन्द्रमा ३ प्रहरी र ५ म्यादी प्रहरी परिचालन हुने रेग्मीले बताए। 

१२ मतदानस्थल अति संवेदनशील

दाङमा १५३ मतदानस्थल र ४६५ मतदान केन्द्र रहेका छन्। १५३ मतदानस्थल मध्ये १२ मतदान स्थल अतिसंवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए। 

जिल्लाको ग्रामिण बस्तीमा रहेका मतदानस्थलहरु सुरक्षाका रुपमा अति संवेदनशील रहेका हुन्। जसमा बबई गाउँपालिका, बंगलाचुली गाउँपालिका, राजपुर गाउँपालिका रहेका मतदानस्थलहरु रहेका छन्।  

यस्तै १३० संवेदनशील र ११ सामान्य मतदानस्थल रहेको रेग्मीले जानकारी दिए। उनले अतिसम्वेदनशीलमा राखिएको भए पनि सोही अनुसार सुरक्षाकर्मी खटिने भन्दै सुरक्षाप्रत्याभूति दिलाउन आफूहरु तत्पर रहेको बताए।

प्रकाशित मिति: : 2022-10-17 17:24:00

प्रतिकृया दिनुहोस्