मनसुन बाहिरिँदै, एक साता घमाइलो हुने

नेपालबाट मनसुन बाहिरिन थालेसँगै देशभर घमाइलो हुन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन-चार दिन मुलुकमा भारी वर्षाको सम्भावना छैन।

प्रदेश १ बाहेक सबै प्रदेशबाट मनसुन बाहिरिसकेको छ । पूर्वी भूभागमा भने आज पनि मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।

महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा आंशिक बदली  रही बाँकी  प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। सोमबार सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: : 2022-10-16 07:00:00

प्रतिकृया दिनुहोस्