मोना हङकङद्वारा ओमकुमारी शान्ति कोषलाई ४० लाख रूपैयाँ सहयोग

BreaknLinks
BreaknLinks

हङकङमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले गरीव तथा विपन्न म्याग्देलीहरुको उपचारमा सघाउन ओमकुमारी शान्ति कोषलई ४० लाख रुपैयाँ बढी सहयोग गरेको छ।

गरीव तथा विपन्न परिवारका बिरामी उपचारका लागि स्थापना गरिएको संस्था ओमकुमारी शान्ति कोषको अक्षय कोषमा (मोना) हङकङले ४० लाख ११ हजार १ सय ११ रूपैयाँ हस्तान्तरण गरेको छ। मंगलबार बेनी बजारमा आयोजित एक कार्यक्रममा मोनाका अध्यक्ष कर्ण पुनले कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।

मोना हङकङको २०औँ साधारणसभाको अवसरमा कोषका लागि संकलन गरिएको उक्त रकम प्रदान गरिएको अध्यक्ष पुनले बताए। म्याग्दीमा रोग लागेर कुनै पनि बिरामी आर्थिक अभावकै कारण उपचारबाट बञ्चित नहोस् भनेर अक्षयकोषको भावना र उद्देश्यमा साथ दिन उनीहरुले पनि हातेमालो गरेको बताए। ‘यस पुन्य कार्यमा हाम्रो पनि सहभागिता जनाउन सहयोग जुटाएका हौँ,’ उनले भने।

परोपकारी क्षेत्रमा क्रियाशील म्याग्दीस्थित ओमकुमारी शान्ति कोषले हालसम्म जिल्लाभर शिक्षा, स्वास्थ्य, पर्यटन विकासका साथै दैवी प्रकोपमा राहत स्वरुप सहयोग गर्दै आएको छ। कार्यक्रममा कोषका महासचिव लोकबहादुर पुनले ओमकुमारी शान्ति कोषका गतिविधिबारे जानकारी गराएका थिए। वि.सं. २०७१ मा स्थापना भएको कोषले गरीव बिरामीहरूको उपचारमा सहयोग पुर्‍याउँदै आएको छ। उसले हालसम्म २ सय ६५ जनाको उपचार गरिसकेको उनले बताए।

कोषमा हालसम्म आर्थिक सहयोग गरी ८ सय ३० जनाले आजीवन सदस्यता, ४१ जनाले व्यक्तिगत संरक्षक सदस्यता र ९ वटा संस्थाले संस्थागत संरक्षक सदस्यता लिएका छन्।

कोषका अध्यक्ष राजेश शाक्यले कोषको उद्देश्य अनुरुप संस्था अगाडि बढिरहेको र आर्थिक रुपमा विपन्नता भएका विरामीहरुको उपचारमा कोषले भविष्यमा पनि परोपकारीको कार्यमा निरन्तर लाग्ने प्रतिवद्धता जनाएको छ। यसको साथै विभिन्न विश्वभर छरिएर रहेका म्याग्देली व्यक्ति तथा संस्थाहरुको सहयोगमा रु. ३ करोड बराबरको अक्षयकोष स्थापना गर्न अभियान सञ्चालन गरिएको समेत अध्यक्ष शाक्यले जानकारी गराए।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि एवं म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना, बेनी नगरपालिकाका प्रमुख सुरत थापा, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेल जिल्लाको विकासमा मोना हङकङले पुर्‍याएको योगदानको खुलेर प्रसंशा गरेका थिए।

मोनाले धौलागिरी पदमार्गको यात्रा गरी विश्वभर प्रवर्धन गर्ने

यसैबीच मोना हङकङकाले धौलागिरी चक्रिय पदमार्गको पनि प्रवर्धन गर्ने भएको छ। मोनाका अध्यक्ष कर्ण पुनको नेतृत्वमा बुधबारदेखि टोली त्यसतर्फ प्रस्थान गरिसकेको छ। उनीहरूको टोली बेनीबजारबाट मुदि, बगरा, इटालियन बेसक्याम्प, धौलागिरी बेस क्याम्प हुँदै मुस्ताङको मार्फामा निस्कने कार्यक्रम छ।

धौलागिरी पदमार्ग प्रवर्धनका लागि पदयात्रामा निस्कदै गर्दा पुनले भने,‘हामी आफ्नो मातृभूमिको प्राकृतिक सौन्दर्य अवलोकन गरेर यसलाई विश्वभर व्यापक प्रचार गर्नेछौं।’ यो अभियानबाट अन्य आन्तरिक तथा बाह्य पर्यटकलाई पनि पदयात्रा गर्न प्रोत्साहन र हौसल्ला मिल्नेछ भन्ने विश्वास रहेको उनले बताए।

पदयात्रा टोलीमा अध्यक्ष पुनसहित उनकी जीवनसाथी मनु पुन, बरिष्ठ उपाध्यक्ष प्रमोद गिरी, उनकी जीवनसाथी सुनिता पूर्जा पुन, सचिव जेबेन्द्र फगामी उनकी जीवन साथी मन्दिरा फगामी, सल्लाहकार राजु गर्बुजा पुन, उनकी जीवनसाथी देवामाया पुन र पूर्व अध्यक्ष इन्द्र एलजी थापा मगर, उनकी जीवनसाथी लक्ष्मी थापा मगर सहभागी छन्। उनीहरुसँगै तीन जना पत्रकारले पनि साथ दिएका छन्।

प्रकाशित मिति: : 2022-10-13 19:23:00

प्रतिकृया दिनुहोस्