दसैँ सकेर फर्कनेका लागि विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि पहिराको उच्च जोखिम मोल्दै गन्तव्यमा पुग्नुपर्ने अवस्था अहिले पनि कायमै छ।
कर्णाली राजमार्गअन्तर्गत दरबारे भिरमा सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध छ। अहिले दैलेख सदरमुकाम बजार हुँदै मध्यपहाडी सडकमार्फत कर्णाली प्रदेशको राजधानी सुर्खेत झर्नुपर्ने बाध्यता छ। एउटा मात्र वैकल्पिक रूपमा रहेको दैलेख–सुर्खेत सडक खण्डमा पनि ५० भन्दा बढी स्थानमा पहिरो झरेको छ।
दसैँ सकिएसँगै कर्मथलो फर्कने कर्णाली प्रदेशका मुगु, हुम्ला, जुम्ला, कालीकोट र दैलेखका यात्रुहरूलाई सहजै गन्तव्यमा पुर्याउनका लागि दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुखसहितको टोली सडकको अवरोध हटाउन पहिरो खसेकै स्थानमा पुगेर सडक खुलाउने काममा निरन्तर व्यस्त छन्।
दैलेख सुर्खेत खण्डको डुङ्गेश्वर बजार नजिक ठूलो पहिरो गएर सडक भासिएपछि पहिरो पन्छाएर सडक सञ्चालन गर्न सुरक्षा निकायको टोली, सडक विभाग र स्थानीय पालिकाको डोजर प्रयोग गरियो। २० स्थानमा झरेको पहिरो हटाउन चार दिनदेखि अवरुद्ध सडक आजदेखि मात्र सञ्चालनमा आएको दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिए।
सडक खुलाउन नारायण नगरपालिका, डुङ्गेश्वर गाउँपालिका, गुराँस गाउँपालिकाको डोजर प्रयोग गरिएको छ। पहिराको जोखिम मोल्दै यात्रुहरूले कष्टकर पैदल यात्रा गर्नुपरेको छ। दैलेख खण्डको चुप्रा बजार, माथिल्लो डुङ्गेश्वर खण्ड, जिरो पोइन्ट, घोडा वास खण्डलगायत २० भन्दा बढी स्थानमा पहिरो गएको छ। अहिले पहिरो पन्छाउने र सडक सञ्चालन गर्ने काम तीव्र पारिएको छ। सडक भासिएका स्थानमा नालीमा ढुङ्गा बिच्छ्याउँदै वैकल्पिक मार्ग निर्माण गरिएको भए पनि जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता कायमै छ।
प्रजिअ हमाल, दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाह, सशस्त्र प्रहरी दैलेखका प्रमुख देवराज बिष्टलगायतको सुरक्षा टोली पहिरो खसेको स्थानमा पुग्दा डोजर सञ्चालकले पहिरो पन्छाउन नसकिने जनाउँदै डोजर फर्किसकेको थियो। सयौं यात्रुहरु धेरै दिनसम्म अलपत्र हुने अवस्था देखेपछि सडक भित्तामा रहेको नालीमा ढुङ्गा हालेर वैकल्पिक सडक निर्माण गर्नुपर्ने अवस्था आयो। जिल्लाबाट गएका सबै प्रमुखहरु, सुरक्षा बल र अलपत्र यात्रुहरुले ढुङ्गा बोकेर सडक भित्ताबाट डोजर जाने बाटो निर्माण गरेपछि मात्र बाटो बन्यो।
डोजरले निकै ठूला दुईवटा ढुङ्गा पन्छाउन र पहिरो सफा गर्न निरन्तर डोजर चलाएपछि मात्र सडक खुल्यो र सयौँ यात्रुहरु ओहोरदोहोर गर्ने अवस्था सृजना भएको थियो।आजदेखि सडक खुलेको दैलेखका प्रहरी प्रमुख शाहले जानकारी दिए।
कर्णाली राजमार्ग र दैलेख–सुर्खेत सडक खण्डका कतिपय स्थानमा सडक भासिएका छन् भने कतिपय स्थानहरूमा पहिरो झरेका छन्।