गृहमन्त्री बालकृष्ण खाणले कर्णाली प्रदेशका मुगु, कालिकोट र हुम्लामा बाढी र पहिरोबाट घाइते भएकाको उद्धार तत्काल गर्न गृह प्रशासन, सम्बन्धित जिल्ला प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
गृहमन्त्री खाणले तत्कालका लागि जिल्लामा रहेको स्रोत साधनको उपयोग गरेर घाइतेको उद्धार, उपचार र पुनःस्थापना गर्नु पर्ने भए पुनस्थापना गर्न र थप स्रोत साधनको आवश्यकता पर्ने भए मन्त्रालयमा लेखि पठाउन निर्देशन दिएका हुन्।
गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल, नेपाल प्रहरीका कर्णाली प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेल र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्री खाणले निर्देशन दिएका हुन्।
उनले सरकारको मुख्य दायित्व नागरिकको जीवन रक्षा भएकालेले संवेदनशील भएर विपद् प्रभावितको उद्धार र उपचारमा लाग्न पनि बताएका छन्।
मुगुको छाँयानाथ रारा नगरपालिका वडा नं ११ को सालिम भन्ने स्थानमा मानबहादुर कुमाईको घर पुरिँदा ५ जनाको शव प्राप्त भएको र ११ जना वेपत्ता भएको खबर आएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए। सुरक्षा टोली घटनास्थलमा पुग्न पनि ठाँउ ठाँउमा पहिरो गरेकाले अफ्टेरो परिरहेको र केही बेरमा पुग्ने जनाकारी आफूले पाएको उनले बताए।
त्यस्तै कालिकोटको तिलगुफा नगरपालिका वडा नं ४ राचुली भन्ने स्थानमा मलामीहरूले लासु जलाइरहेको अवस्थामा माथिबाट आएको पहिरोले पुर्दा १३ जना बेपत्ता भएको खबर आएको र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगिसकेको नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख डिआइजी पोखरेलले जानकारी दिए।
सुरक्षाकर्मीले बेपत्ताहरूको खोजीकार्य जारी राखेको, पहिरो तिला नदीसम्म पुगेको उनले बताए।
यता हुम्लाको चखेली गाउँपालिका वडा नं ६ मेलथममा मानबिर बिकको घर पहिरोले बगाउँदा ९ जना पुरिएकामा ४ जनाको मृत्यु भएको र ५ जनाको जीवितै उद्धार गरिएको डिआइजी पोखरेलले बताए।
घाइतेहरूलाई थप उपचारका लागि नेपालगञ्ज लैजान हेलिकोप्टर घटनास्थलमा लैजाने तयारी भइरहेको डिआइजी पोखरेलले बताए।