कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले दशैंलाई भड्किलो एवं खर्चिलो नबनाई आफ्नो गच्छे र संस्कृतिअनुसार मनाउन आग्रह गरेका छन्।
विजयादशमीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले विकृति र तडकभडकबाट टाढै राखेर दशैं मनाउँदा यसको मौलिकता जोगिने बताएका छन्।
मुख्यमन्त्री शाहीले दशैंले नेपाली समाजलाई एकताको सूत्रमा बाँधेको बताएका छन्। 'दशैंले व्यक्ति, परिवार र समाजलाई आपसमा जोड्नुका साथै सामाजिक सद्भाव, एकता र भातृत्वको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ', शुभकामना सन्देशमा भनिएको छ, 'समाज एकताबद्ध हुँदा मुलुकको सार्वभौमसत्ता र अखण्डता बलियो हुन जान्छ। दशैं नेपालीको ठूलो चाड भएकाले सबैमा सद्भाव, मेलमिलाप र भ्रातृत्व बढाउन यसको महत्वपूर्ण भूमिका रहेको छ।'
मुख्यमन्त्री शाहीले विजयादशमीले कर्णालीको विकास र समृद्धिका लागि प्रदेश सरकारको ‘छ ब’ (बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार) लाई अघि बढाउन र सहकार्य तथा सरोकारको मूल कार्यनीतिलाई कार्यान्वयन गर्न सबै राजनीतिक दल, सङ्घसंस्था, जनप्रतिनिधि, राष्ट्रसेवक, निजी क्षेत्रलगायत आम कर्णालीवासीलाई पे्ररणा मिल्ने अपेक्षा गरेका छन्।