मोहनी नखाःको दशौँ दिन नेवार समुदायमा चालँ

मोहनी नखाःको दशौँ दिन नेवार समुदायले आज चालँ मनाउँदैछन्। यस दिन मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसादका रूपमा असत्यमाथि सत्यको विजयको प्रतीक रातो टीका, समृद्धिको प्रतीक जमरा र रातो कोखा लगाइन्छ। साथै खड्ग र पायो बोकेर खाँ निस्कने गरिन्छ।

नेवार समुदायमा विजयादशमीको दिन घरको सबैभन्दा जेठो व्यक्तिले बिहानै पवित्र भई महानवमीको दिन नवदुर्गा भवानी र नःलास्वाँ (जमरा) पूजा गरेको स्थानमा मोहनी पूजा सम्पन्न गरिन्छ। त्यसपछि परिवारका सबैजना बसेर सम्ये बजीको प्रसाद ग्रहण गरी परिवारको ज्येष्ठ सदस्यबाट परिवार सबैलाई क्रमैसँग मोहनी सिन्हः (कालो टीका), नःलास्वाँ र रातो कोखासहित पूजामा राखेका औजार सामग्री हस्तान्तरण गरिन्छ। 

यसरी प्रसाद लिँदा आफूभन्दा ठूलालाई ढोग्नुपर्ने  र ठूलाले पनि सुख समृद्धि, सुस्वास्थ्यको कामनासँगै सत्य र न्यायको पक्षमा जुझ्न सक्ने शक्ति होस् आदि भनेर आशीर्वाद दिन्छन्। चालँअर्थात् दशमीका दिन काठमाडौँ उपत्यकाको सहरमा र अन्य नेवार बस्तीमा पायो वा खड्ग जात्रा निकालिन्छ। घरघरमा पनि आगनमा पूजा गरिराखेको खड्ग जेठो पुरुष सदस्यले बोकेर आँगन बाहिर ल्याउँछन्। सबै घरपरिबारले खड्ग ढोग्दछन्। यसो गर्नाले खड्गसिद्धी प्राप्त भई शक्ति हासिल हुने बिश्वास छ। 

खड्ग बोक्ने पायोमा पनि देवी प्रवेश गर्ने भएकोले पायो काँप्न थाल्दछ। त्यसपछि कुभिन्डो, उखु र अदुवाको बोटलाई खड्गले हानेपछि पायो पनि सम्पन्न हुन्छ। किम्वदन्तीअनुसार भगवतीले महिषासुरको बध गर्न खोज्दा ज्यान जोगाउन कुभिन्डो, उखु र अदुवाको बोटमा प्रवेश गरेकोले ती वस्तुलाई पनि काट्ने गरेको बताइन्छ। यसैगरी पायो निकाली कुभिन्डो आदि काट्नु भनेको अन्याय अत्याचारमाथि सत्य र न्यायको विजय भनेर पनि बुझ्ने गरिन्छ। पायोअर्थात् खड्गलाई घरभित्र मात्र होइन, बाहिर समुदायमा पनि धुमधामसँग जात्रा नै गरिन्छ। 

नेवार समुदायमा दशमीको दिनदेखि मोहनी नखाःत्या सुरु हुने र यसदिनदेखि  मान्यजनका घरघर गएर टीका लगाउने परम्परा नभए नि अचेल यसको प्रचलन बढेको छ। नेवार समुदायमा दिदीबहिनी, भान्जाभान्जी, छोरी ज्वाइँलगायतका आफन्तजनलाई मोहनी नखाःको भोजको निम्तो दिएर खुवाउने प्रचलन छ, यसैलाई नखाःत्या सतेऊ (बोलाउनें) र नखाःत्या वनेऊ (जाने) भन्ने गरिन्छ।

यो दिन देवी दुर्गा भवानीले महिषासुर राक्षसको वध गरेको विश्वासमा विजय मनाउने भएकाले यस दिनलाई विजयादशमी पनि भन्ने गरेको संस्कृतिविद्को भनाइ छ। यो दिन भक्तपुरको ब्रह्मायणीमा ठूलो मेला लाग्दछ। यस दिन घटस्थापनाको दिन राखेको जमरा र महानवमीको दिन विशेष प्रकारले बनाएको मोहनी टीका देवीको प्रसादको रुपमा शिरमा लगाइन्छ। तलेजु समेत विधिवत रुपमा अन्तिम पूजा गरी कुमारी घरमा रहेको तलेजुलाई पुन देवगृहमा विराजमान गराइन्छ।

राती ब्रह्मायणीबाट नवदुर्गा फर्केपछि खड्ग जात्रा निकालिन्छ। देवीले दैत्यलाई वध गरेको सम्झनामा यो जात्रा सञ्चालन गरिएको संस्कृतिकर्मीहरु बताउँछन्। खड्ग जात्रालाई पायो जात्राको रुपमा पनि लिइन्छ। यो जात्रामा तलेजु भवानीलाई नवदुर्गा गणसहितले विधिवत्रुपमा पूजा गर्दछन्। यो जात्रामा तलेजुको वाहन सेतो घोडा दौडाउनुका साथै फलामे पोसाक लगाएका मानिससमेत जात्रामा सामेल हुन्छ।

किम्वदन्तीअनुसार सत्ययुगमा दैत्यहरुले ब्रह्माको तपस्या गरे। ब्रह्माले खुसी भई दैत्यहरुलाई वरदान माग्ने आज्ञा दिए। दैत्यले कसैले मार्न नसक्ने वरदान माग्दा ब्रम्ह्माले स्वास्नीमान्छेबाहेक कसैले मार्न नसक्ने वरदान दिए। वरदान प्राप्त गरेपछि दैत्य स्वर्गमा गई देवतालाई दुःख दिन थाले। यो देखेर महादेव, इन्द्र र विष्णु मिलेर शक्ति स्वरुपा देवीको उत्पत्ति गराए। दैत्यसँग युद्ध गराए अन्तःमा मुख्य मुख्य दैत्य सबै मारिए। बाँकी भएका दैत्यरुकोही हाँस भए, कोही कुखुरा भए, कोही बोका, कोही राँगा भए। देवीले त्यसरी दोपाया र चौपायामा प्रवेश गरेका दैत्यलाई खोजी खोजी मार्न थाले। यसैको सम्झनामा खड्ग जात्रा सुरु भएको लोककथन रहेको पाइन्छ।

प्रकाशित मिति: : 2022-10-05 08:12:00

प्रतिकृया दिनुहोस्