विगत लामो समयदेखि कफी खेती गर्दै आएका मेलम्ची नगरपालिका–१० शिखरपुरका शङ्कर खनाल कफी व्यवसायकै भरमा परिवार पाल्न सक्षम भएका छन्।
गाउँभरि कोदो र मकै रोप्ने बारीहरूमा कफीका बिरूवा ल्याएर लगाउन थालेपछि शङ्करका छिमेकीहरू अचम्मित भएका थिए। पछि कफी उत्पादन गरी बिक्री गर्न थालेपछि भने छिमेकीहरूमा पनि कफी लगाउने रहर जाग्न थाल्यो। फलतः शङ्करका छिमेकीहरू पनि कफी खेती गर्न अग्रसर हुन थाले। 'गाउँलेहरूले पनि कफी रोप्न मन लागेको बताएपछि मैले नै बिरुवा उत्पादन गरेर दिएँ', उनले भने।
कफी खेतीमा प्रशस्त जानकारी हासिल गरिसकेका शङ्करले सुरुमा काम गर्न कठिन भए पनि बिरूवाले उत्पादन दिन थालेपछि खुसी लागेर खेती गर्न हौसला मिलेको बताए। कफीका बिरुवामा रोग लाग्दासमेत सावधानीपूर्वक उपचार गरेर उत्पादन लिन सक्नुपर्ने उनको अनुभव छ। उनी भन्छन् 'सकेसम्म रासायनिक विषादीभन्दा तितो, टर्रो, पिरो र कोक्याउने जातका वनस्पतिको प्रयोगबाट रोग र किरा निर्मूल गर्नुपर्छ।'
अहिले शिखरपुरका शङ्कर र उनका छिमेकी मात्र नभई हेलम्बु गाउँपालिकाको महाँकालका रेतनाथ लामिछानेले पनि आफना बाँझा पाखाहरूलाई कफीका बोटले हरिया बनाएका छन्। मुस्किलले कोदो फल्ने ती पाखाहरूमा कफी राम्रै उत्पादन हुने रेतनाथले बताए।
बोटबाट टिपेर रु चार सयदेखि पाँच सय ५० सम्म कफी उद्योगमा पुर्याएर बिक्री गर्दा पनि सामान्यबालीमा भन्दा फाइदा हुने उनको अनुभव छ।