दशहारा (बडादसैँ) पर्वका अवसरमा महोत्तरीसहितका मिथिला क्षेत्रमा देवी दुर्गाको ‘खोइछ’ (पोल्टा) भरिँदै जारी छ। महासप्तमी (फूलपाती) लागेसँगै मधेसको प्राचीन मिथिला क्षेत्रमा देवी दुर्गाको ‘खोइछ’ भर्न थालिएको हो। देवी शक्तिपिठ, मन्दिर र प्रतिमास्थलमा ‘खोइछ’ भर्नेको लाम छ।
मिथिलामा असोज शुक्ल सप्तमीदेखि नवमीसम्मका तिथिका अगाडि ‘महा’ जोड्ने गरिएको छ। मिथिलामा नयाँ बनाइएका माटाका देवी प्रतिमा आज बिहान प्राणप्रतिष्ठा गरिएसँगै दर्शनार्थीका लागि खुला गरिएका छन्। दर्शन खुला गरिएसँगै ‘खोइछ’ भर्न थालिएको हो। यो क्रम महानवमीको मध्यरातसम्म जारी रहने परम्परा छ।
दशहारा पर्वको सप्तमी तिथि प्रारम्भ भई फूलपाती भित्र्याइएसँगै देवी कालरात्रिको पूजाआराधना गरिएपछि ‘खोइछ’ भर्नेक्रम थालिन्छ। खासगरी विभिन्न समयमा गरिएका भाकलअनुसार देवीको सारीको अँचरा (पोल्टा) मा वस्त्रपरिधान, सौन्दर्य प्रशाधन, द्रव्य (सुन, चाँदीसहितका धातुबाट बनेका गहना), नरिवल, केरासहितका फलफूल र नगद भेटीसहित सामग्री चढाउने विधिलाई मिथिलामा ‘खोइछ’ भर्ने भन्ने गरिन्छ।
अहिले महोत्तरी जिल्लाको औरही नगरपालिका–७ स्थित सोनामाई देवी शक्तिपिठ, बदिबाास–४ माइस्थानस्थित पञ्चधुरा माई मन्दिर, बर्दिबास–१४ स्थित दुर्गामन्दिर, जलेश्वरस्थित सन्सारीमाई र राजदवी मन्दिरमा ‘खोइछ’ भर्न लाम लाग्नेमा महिलाको सङ्ख्या धेरै छ। ‘खोइछ’ मा पुरुष सहभागी हुनसक्ने भए पनि यो विधिमा भने महिला बढी सहभागी हुने गरेका छन् । मिथिलामा दसैँको सप्तमीदेखि नवमी तिथिभरि ‘खोइछ’ भरिने परम्परा छ।
‘खोइछ’ भरिनेक्रमसँगै बडादसैँ पर्वको महासप्तमी पर्वका दिन यी ठाउँ (देवीस्थल)मा वलि दिनेक्रम सुरु हुन्छ। फूलपाती विधि सम्पन्न भएसँगै सप्तमीकै दिन सुरु हुने बलि नवमीसम्म जारी रहन्छ। जिल्लाको प्रसिद्ध सोनामाई देवी शक्तिपिठमा आज मधेसका जिल्ला र छिमेकको भारतीय जिल्लाबाट हजारौँको सङ्ख्यामा भक्तजन दर्शन, पूजाआराधना र ‘खोइछ’ भर्न पुगेका छन्।