छाेटाे समयमै दर्जनौं काम गरेकाे फेहरिस्त छ : अध्यक्ष राजवंशी

गौरीगंज गाउँपालिकाले दशैं, शुभ दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

आज नेपाल रेडक्रस सोसाईटी गौरीगंज शाखाको समन्वयमा सम्पन्न कार्यक्रममा प्रबल जनसेवाश्री पदकबाट विभुषित भएका नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष सामाजिक व्यक्तित्व लोकराज ढकाललाई सम्मान गरिएको थियो।

गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी उपाध्यक्ष पुजन न्यौपाने कुँवर, प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले खादा ओढाएर सम्मान गरेका थिए।

कार्यक्रममा अध्यक्ष राजवंशीले बाहिर सुनिएको जस्तो र केही मिडियाले हल्ला गरे जस्तो नभएको भन्दै गाउँपालिकाले गरेको कामको प्रगति पनि आमनागरिक समक्ष पुर्याउन मिडियाको दायित्व भएको बताइन्। 

दुई महिनाभित्र प्राथमिक स्वास्थ्य केन्द्र गौरीगंजलाई आधारभुत अस्पतालको रूपमा स्थापना गरेर भिडियो एक्सरे सहित १ करोड रूपैयाँ भन्दा बढीको स्वास्थ्य सामाग्रीहरू अनुदानमा ल्याउनु, गौरीगंज गाउँपालिका वार्ड नं. २ स्थित टटुवामारीको सिमसार क्षेत्रलाई संघीय सरकारको ३ करोड ५० लाख र गाउँपालिकाको १ करोड ५० लाख रूपैयाँको लागतमा हाल निर्माण भइरहेको, करिब ८ सय ३५ जना सुकुम्बासी परिवारलाई प्रथम चरणको जग्गाको निस्सा दिएको, विभिन्न योजनाहरूको ठेक्का टेण्डर आवह्वान गरि निर्माण प्रक्रिया अगाडि बढाइ रहेकोलगायतका दर्जनौं कार्यहरूको फेहरिस्त छोटो समयमै गाउँपालिकाले गरेको अध्यक्ष राजवंशीले बताइन्।

गौरीगंज गाउँपालिकाको विभिन्न बाटोको निर्माण, ढल निर्माणलगायत कामहरू क्रमिक रूपमा अगाडि बढीरहेको र कृषकहरूलाई अनुदान तथा साझेदारीमा मोटर, पम्प सेट वितरण गर्नुका साथै बिजुली पोल र तारहरू विभिन्न वडाहरूमा जडान गरि नागरिकहरूलाई सेवा प्रदान गरेकोप्रति स्थानीय मिडियाको ध्यान नगएको अध्यक्ष राजवंशीले आरोप लगाइन्।

सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का करिब ३ सय भन्दा बढी विद्यार्थीलाई निशुल्कमा पढाउने भनेर कार्यपालिकाको पहिलो बैठकबाट निर्णय गरेको स्मरण गर्दै त्यसको बारेमा मिडियाको ध्यान किन नगएकोरु अध्यक्ष राजवंशीले मिडियाप्रति लक्षित गर्दै उनले भनिन्, 'त्यो मात्र होइन् सर्पले टोकेको बिरामीलाई अस्पतालसम्म लैजाने खर्च व्योहोरेको, छोरी जन्मेको खण्डमा उनकै नाममा बैंक खाता खोल्नेलगायतका कैयन कार्यहरू गरिरहेका छौँ।'

अध्यक्ष राजवंशीले गाउँपालिकाको विकास, उन्नती र प्रगतिको लागि सबैको साथ र सहयोगबाट मात्र सम्भव हुने उनले सुनाइन।

कार्यक्रममा गौरीगंज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपानेले गाउँपालिकाले आम गौरीगंजवासीका लागि सधै चिन्तित रहेको बताउँदै गाउँपालिकाले छोटो अवधिमै धेरै कामहरू गरेको बताइन्।

न्याय सम्पादनदेखि विकास निर्माणका कार्यहरूमा जति काम हुनुपर्ने त्यति हुन नसकेको भएपनि हालसम्म भएको कार्यहरू आमनागरिकको पक्षमा भएको उपाध्यक्ष न्यौपानेले बताइन्।

कार्यक्रममा गौरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, उद्योग वाणिज्य संघ गौरीगंजका अध्यक्ष मखना महतो, नेकपा एमालेका गाउँ कमिटि अध्यक्ष गोविन्द कुँवर, नेपाल रेडक्रस सोसाईटिका झापा अध्यक्ष लोकराज ढकाललगायतले आ-आफ्नो धारणा राख्दै शुभकामना आदान प्रदान गरेका थिए।

त्यसैगरी गौरीगंज गाउँपालिका वार्ड नं.३ का वडा अध्यक्ष श्रवण गिरी, वार्ड नं। ६ का अध्यक्ष बद्री नारायण यादव, ईलाका प्रशासन कार्यालयका प्रमुख चुडामणि आपगाई, ईलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक जितेश दाहाल, जेष्ठ नागरिक संघ गौरीगंजका अध्यक्ष भोला खतिवडा, रेडक्रस झापाका शाखाका प्रतिनिधि, रेडक्रस सोसाईटिका गौरीगंज सभापति यादव रिजाल, कार्पालिका सदस्यलगायत विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। 

प्रकाशित मिति: : 2022-09-30 21:26:00

प्रतिकृया दिनुहोस्