शिक्षकको हत्या गरेको आरोपमा विद्यार्थी पक्राउ

ओखलढुंगामा शिक्षकको हत्या गरेको आरोपमा एक विद्यार्थीलाई पक्राउ गरिएको छ।

सप्तरीको विष्णुपुर गाउँपालिका–५ घर भई ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ लेखर्कस्थित कालिका आधारभूत विद्यालयमा कार्यरत ३३ वर्षीय शिक्षक दीपककुमार ठाकुरको हत्या गरेको आरोपमा प्रहरीले २२ वर्षीया युवतीलाई पक्राउ गरेको हो।

हत्या गरेको हारोपमा सिद्धिचरण नगरपालिका–८ सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरेको हो।

चिशंखुगढी नगरपालिका–४ स्थित कुमार राईको घरमा डेरा गरी बस्दै आएका शिक्षक ठाकुर असोज ७ गते सुतेकै अवस्थामा कोठामा मृत फेला परेका थिए।

शिक्षक मृत अवस्थामा फेला परेको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। घटना स्थलको अवलोकनपश्चात हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान थालको थियो।

अनुसन्धानका क्रममा घटनामा महिलाको संलग्नता पुष्टि हुने आधार भेटेपछि आरोपित महिलालाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुकदेव खनालले जानकारी दिए।

ठाकुरको टाउको तथा शरीरका अन्य भागमा कुटपिट गरी नाक, मुख र घाँटीमा गम्छाले बाँधी, मुखमा सिरानीले थिचेर हत्या गरेको आरोपितले बयान दिएको एक प्रहरी अधिकारीले बताए।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार पक्राउ परेकी ती युवतीले घटना आफैँले घटाएको स्वीकार गरेकी छन्। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

‘ठाकुर शिक्षक र आरोपित विद्यार्थी रहेछन्, उनी सरुवा भएर अन्यत्र जाँदा पनि ति युवतीलाई बारम्बार फोन गर्ने गरेको पाइएको छ,’ युवतीको बयान उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘ठाकुरले युवतीलाई भेट्न दबाब दिँदा रहेछन्, बारम्बार उनीसँग अश्लिल म्यासेज गर्ने, कुराकानी गर्ने, परिवारका सदस्यलाई समेत निरन्तर अश्लिल सन्देश लेखेर पठाएर मानसिक तनाव दिने गरेको रहेछ।’ यही कारण उनीहरुको बीच विवाद बढेको र अन्तमा घटना हत्यासम्म पुगेको अनुमान छ।

प्रकाशित मिति: : 2022-09-26 16:23:00

प्रतिकृया दिनुहोस्