दाङको बेलझुण्डी स्थित नेपाल संस्कृति विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लागेको ताला खुलेको छ।
बुधबार दिउँसो आयुर्वेद संकाय तर्फका विद्यार्थीहरुले विद्यार्थीले उपप्रध्यापक नियुक्ति, केन्द्रीय आयुर्वेद विद्यापिठमा ओपिडिसहितको तत्काल अस्पताल सञ्चालन, इन्टर्नशीपका लागि क्याम्पसले गरेको सम्झौता अनुरुप भत्ताको व्यवस्था गर्नुपर्ने लगायत २१ वटा माग राखी अनिश्चितकालिन तालबन्दी गरेका थिए।
तर आज बिहीबार दिउँसो विद्यार्थी र विश्वविद्यालयबीचको सहमतिपछि विद्यार्थीहरुले आफैले ताला खोलेका छन्।
‘उपप्राध्यापक नियुक्तिलगायतका विषयमा पहल गर्ने सहमति भयो। विद्यार्थीहरु सहमतिमा आएपछि आज दिउँसो ताला खुलेको छ।’ विश्वविद्यालयका रजिष्टार माधव अधिकारीले भने।
उनका अनुसार अदालतले अवहेलना मुद्धा लाग्न सक्नेसम्मको विचार गरेर ताला खोलिएको हो। यसअघि १०० दिन विश्वविद्यालयमा ताला लाग्दा उच्च अदालत तुलसीपुरले ताला लगाउनु अनुचित भन्दै खोल्नका लागि अन्तरिम आदेश दिएको थियो।
आदेशका विरुद्धमा विद्यार्थीहरुले ताला खुलेको एक महिना नपुग्दै बुधबार फेरि तालाबन्दी गरेका थिए।