टोलटोलमा यम द्य (देवता) ठड्याउने क्रमसँंगै भक्तपुरको इन्द्रजात्रा सुरु हुन्छ। यहाँ जात्रा एक हप्तासम्म चल्छ। जात्राको पहिलो दिन नगरका टोलटोलमा यम्बद्यः (देवता)का रुपमा १५ सोह्र फिट अग्ला लिंगोहरू ठडाइन्छन्। स्थानीयवासी यसलाई यम्बद्यः(इन्द्र देवता) उठाइएको भन्छन्। प्रत्येक वर्ष भाद्र शुक्ल पक्ष द्वादशी इन्द्रजात्रा (नेपाल भाषमा यन्हा पुन्ही) को पहिलो दिन यहाँं यसरी नै यम द्य (ईन्द्र देवता) उठाइन्छ।
दोस्रो दिन (भाद्रशुक्ल त्रयोदशी)
यस दिनलाई यम्बद्यःको नित्यपूजा र आरतीबाहेक अरू विशेष पूजा नहुने हुँदा ‘दिकु’ (विश्राम) भनी मान्ने चलन छ।
तेस्रो दिन (भाद्रशुक्ल चतुर्दशी)
यो दिन साझ परेपछि खौमाटोलस्थित इन्द्रायणी देवगृहबाट इन्द्रायणीलाई रथमा विराजमान गराई, ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराई बाजागाजासहित धुमधामसंग जात्रा गरी सिद्धपोखरीमा लाने चलन छ।
चौथो दिन (भाद्रशुक्ल पूर्णिमा)
यस दिन भक्तपुरका बासिन्दाहरू ’इन्द्र दहस्नान’ गर्न विहानैदेखि सिद्धपोखरीमा जान्छन् र समय् (भोज) चढाएर, खाएर ययापुन्ही मान्छन्। समय्बजीमा छ्वय्ला, सारां (कर्कलोको अचार), भिजाएको केराउ, काक्रो विशेष रूपले खाने चलन छ। बेलुकी इन्द्रायणी देवीलाई पुनः रथमा विराजमा गराई बाजागाजासहित आधा देश परिक्रमा गराई देवगृह भित्र्याइन्छ।
पाचौ दिन (आश्विनकृष्ण प्रतिपदा)
नित्य पूजा र आरती, आगामी दिनको तयारी मात्रै गरिन्छ यो दिन।
छैठौँ दिन (आश्विनकृष्ण द्वितीया)
सला गणेश, यामता, मुपात्र जात्रा हुन्छ यो दिन। इन्द्रजात्रा उत्सवको यो दिन पनि विशेष महत्वको छ। यस दिनको मुख्य जात्रा यामता, सला गणेश अनि मुपात्र जात्रा हुन्। ‘यामता’ इन्द्रबत्ती हो। जात्राको शुभारम्भ हुने स्थान तचपाल टोल हो। यहाँ दतात्रय मन्दिर सामुन्नेको विशाल चोकमा जात्रा हेर्न ठूलो भीड लाग्छ। साकुलान टोलका मानन्धरहरूले बासले बनेको त्रिशुल आकारको यामतालाई आगनमा भैरवनाथका सामुन्नेमा राखी विधिवत् पूजा गर्छन्।
सातौँ दिन (आश्विन कृष्ण तृतीया)
यस दिन चोछे टोलका छुमा गणेश र गोलमढी टोलका मानन्धरहरूको एउटा यामतासहित देश परिक्रमा गरी जात्रा चलाइन्छ। मूपात्र पनि आङ्खना दुई जना धिचाहरू लिएर अघिल्लो दिनमा जस्तै नगर परिक्रमा गर्दै सामुन्नेमा परेका यम्बद्यःहरूलाई खड्गले प्रहार गर्दै जात्रा गरी जान्छन्।
आठौँ दिन (आश्विनकृष्ण चतुर्थी)
भैरवनाथको जात्रा, पुलुभैलद्य जात्रा, यामता जात्रा, पुलुकिसी जात्रा, मूपात्र जात्रा यस दिनको आकर्षण हुन्। इन्द्रजात्राको समापन दिन धूमधामसित मनाइन्छ। यस दिनमा टौमढी टोलका भैरवनाथलाई रथमा राखी देश परिक्रमा गरी जात्रा चलाइन्छ। सो जात्रामा तेखाचोका मानन्धरहरूले दुई वटा यामता ल्याउँछन्। बुलुचाहिटी सामुन्ने चखुन्चाफल्चातिर अभिमुख गरी यामता बाल्छन्।
अनि भैरवनाथको जात्रामा सरीक हुन पुग्छन्। सोही क्रममा भैरवनाथको मन्दिरको भित्तामा झुण्ड्याइराखेको पुलु भैलद्यः (मान्द्रोमा चित्रित मसान भैरव)को जात्रा पनि चलाइन्छ, ठाउँ–ठाउँमा छ्वाली बाल्दै निलो पहिरनमा सेतो वर्णको पुलुकिसीको जात्रा पनि चलाइन्छ। अनि भैरवनाथ मन्दिरको मूलद्वारबाट खड्ग उठाएर बाहिरिँदै धिचासहित भएर मूपात्रको जात्रा पनि चल्छ।
किंवदन्ती
गणेश चतुर्थीका दिनमा बसुन्धराले व्रत बस्दा पूजाका लागि चाहिने ‘खाइसी’ (काली ज्यामिरेका जातिको एक किसिमको तितो अमिलो फल ) र पारिजातको फूल लिन उनका छोरा इन्द्र स्वर्गलोकबाट सुटुक्क पृथ्वीलोकमा झरे। उनले फलफूल चोरेको यहाँका जनताले थाहा पाएपछि उनलाई पक्री चोरेका फलफूलसहित सबैले देख्ने ठाउँमा (दोबाटो चौबाटो) बाँधेर राखे। (इन्द्रजात्राको पहिलो दिन दोबाटो चौबाटोमा खडा गरिने यम्बद्यः उनै इन्द्र हुन्) छोरालाई बन्दी बनाएर राखेको थाहा पाएपछि तिनी डाकिनीको भेषधारण गरी पृथ्वी आइन्। अनि तिनीले शित र हुस्सुले वातावरणलाई छोपी कसैले नदेख्ने गरी छोरा देवराजलाई स्वर्गमा भगाएर लगिन्। छोरालाई भगाउन स्वर्गबाट ऐरावत हात्तीसमेत ल्याएकी थिइन्। पुलुकिसी त्यही हात्ती हो।