बूढानीलकण्ठ नगरपालिकाले ५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाएको छ।
बिहीबार बूढानीलकण्ठ नगरपालिका-३ स्थित बूढानीलकण्ठ मा.विमा विविध शैक्षिक कार्यक्रमहरुको आयोजना गरी उक्त दिवस मनाइएकाे हाे।
साे अवसरमा नगरपालिकाभित्रका विद्यालयहरुबाट २०७८ को प्रवेशिका परीक्षामा सबैभन्दा उच्च अंक (जिपिए) प्राप्त गर्न सफल विद्यार्थीलाई सम्मान गरिएकाे छ। साथै सामुदायिक विद्यालयमा २० वर्षभन्दा बढी सेवा गरेका शिक्षकहरुलाई पनि दोसल्ला तथा सम्म्मान पत्र प्रदान गरिएको थियो।
साक्षरता दिवसकै अवसरमा नगरपालिकाले आयोजना गरेको निबन्ध तथा कविता प्रतियोगिताका विजेताहरुलाई पनि पुरस्कार वितरणसमेत गरिएको थियो।
विभिन्न प्रतियोगितामा सहभागी विद्यार्थीहरुको रचना संग्रहित पुस्तकको बिमोचन गर्दै नगरपालिका मेयर मिठाराम अधिकारीले यस्ता रचनात्मक तथा सृजनात्मक क्रियाकलापले विद्यार्थीको पढाइ संगसंगै सर्वाङ्गीण विकासमा जोड दिने बताएका थिए।
वि.स. २०७८ को एसईई परीक्षामा काठमाडौँबाट १० जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेकोमा बूढानीलकण्ठ नगरपालिकाबाट मात्रै ४ जना विद्यार्थीले उक्त जिपिए ल्याउन सफल भएका थिए।
नगरपालिका शिक्षा विभाग प्रमुख ललित थापाले आगामी दिनहरुमा पनि यस्ता उत्प्रेरणात्म शैक्षिक कार्यक्रमहरुको आयोजना गर्ने योजना रहेको बताएका थिए।
उनले यस नगरपालिकामा अवस्थित सम्पूर्ण सामुदायिक र निजी विद्यालयहरुले शैक्षिक क्षेत्रमा खेलिरहेको भूमिका अतुलनिय रहेको बताएका थिए।