लोपोन्मुख सतिसाल जोगाउन अभियान

File photo
File photo

मकवानपुरको बागमती गाउँपालिका–४ लमकानामा लोपोन्मुख अवस्थामा पुगेको बहुमूल्य वनस्पति सतिसालसहित तीन सय ६५ वटा बिरुवा रोपिएको छ।बागमती पालिका अध्यक्ष सर्केश घलानका अनुसार महँगो र लोप हुन लागेको सतिसाललाई लोप हुन नदिने उद्देश्यले सतिसालसहित अन्य फलफूलको रुख पनि रोपिएको छ।

उहाँका अनुसार यहाँ विजयसाल, एभोकाडो, निम, अमला, पिटौजिया प्रजातिका बिरुवा रोपिएको छ।अध्यक्ष घलानले सतिसाल दुई सय, विजयसाल ७० वटा, एभोकाडो १४, निम २५, अमला ५० र पिटौजिया प्रजातिको छवटा बिरुवा रोपण गरिएको बताए।मूल्यवान काठका रुपमा प्रयोग हुने सतिसाल जोगाइने उनले बताए।

जिल्ला वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत वसन्तराज गौतमले सतिसाल लोप हुने अवस्थामा पुगेकाले बचाउने अभियानमा लाग्नुपर्ने बताए।सतिसालको काठ मूल्यवान हुने र सजिलै महँगोमा बिक्री हुने गरेका कारण पनि यसबाट अर्थतन्त्र बलियो बनाउन सकिने उनको भनाइ छ।सतिसालबाट बन्ने दराज, कुर्सी, टेबलजस्ता फर्निचरलाई तराई तथा भारतीय बजारमा पनि बिक्री हुने गरेकाले विगत वर्षहरूमा यो सालको विनाश भएको अध्ययनले देखाएको उनले बताए।

सतिसाल फुल्छ र कोसामा बीउ लाग्छ।काठ भने चक्र र धर्साबुट्टा एवं कालो र रातो रङको हुने गर्दछ।यसबाट बनेका फर्निचर विश्वबजारमा नै मूल्यवान रहेको र यसलाई जोगाउने र बिक्री वितरण गर्ने मापदण्ड बनाउनुपर्ने बताइन्छ।

प्रकाशित मिति: : 2022-08-11 16:04:00

प्रतिकृया दिनुहोस्