तीन दिन मनाइने गणतन्त्र दिवस

File photo
File photo

सरकारले यस पटक तीन दिनसम्म गणतन्त्र दिवस मनाउने भएको छ। यही १४, १५ र १६ जेठमा सरकारले गणतन्त्र दिवस मनाउने भएको हो।   

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बिहीबार बसेको ‘गणतन्त्र दिवस २०७९’ मुल समारोह समितिको बैठकले दिवसलाई तीन दिनसम्म विभिन्‍न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो। 

निर्णयअनुसार १४ जेठको साँझ संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा एवं ब्यानर सजाइ साँझ दिपावली गर्नुपर्ने भएको छ। सरकारले उक्त दिन आम नागरिकलाई दिपावली गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ। 

१५ जेठमा भने हेलिकोप्टरबाट पुष्पबृष्टि र झण्डा प्रदर्शन गरी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम गरिने मूल समारोह समितिका सदस्य सचिवसमेत रहेका गृहसचिव टेकनारायण पाण्डेले जानकारी दिए। 

सोही दिन साँझ आम नागरिक र सरकारी तथा सार्वजनिक कार्यालयहरूले आ–आफ्नो घर, कार्यालय एवं सार्वजनिक स्थलहरूमा दिपावली गर्ने कार्यक्रम तय भएको छ। 

१६ जेठमा भने रेडियो नेपाल तथा नेपाल टेलिभिजनबाट जागरण गीत प्रसारण गर्ने तथा देशवासी र सरकारी तथा सार्वजनिक निकायहरूले आ–आफ्नो घर, कार्यालय एवं सार्वजनिक स्थलहरूमा साँझ दिपावली गर्ने कार्यक्रम तय भएको छ। 

त्यस्तै, विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासहरूमा राष्ट्रिय झण्डा फहराउने र दीप प्रज्वलन गर्ने निर्णय पनि मूल समारोह समितिले गरेको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मन्त्रीहरू, संवैधानिका निकायका प्रमुखहरू, प्रधान सेनापति, विशिष्ठ श्रेणीका राजपत्रांकित कर्मचारीहरू र सुरक्षा निकायका प्रमुखहरूलागयत रहनेगरी मूल समारोह समिति गठन गरिएको छ।
 

 

प्रकाशित मिति: : 2022-05-19 13:15:00

प्रतिकृया दिनुहोस्