सिन्धुपाल्चोकमा स्थानीय तहको निर्वाचनअन्तर्गत मतदान सम्पन्न भएका केन्द्रको मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन थालिएको छ।
१२ स्थानीय तहमध्ये मेलम्ची नगरपालिकाको वडा नम्बर ९ ज्यामिरे, वडा नम्बर ५ सिन्धुकोट र त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ धुस्कुनको बाहेक अरू स्थानको मतदान सकिएको जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
ती वडामा दिउँसो भएको विवादले दुई घण्टा मतदान रोकिएकोले लम्बिएको हो। अधिकांश मतपेटिकाहरू संकलन गर्दै आउने क्रम जारी रहेको छ। भौगोलिक अवस्थाका कारण राति अबेरसम्म पनि लाग्न सक्ने निर्वाचन अधिकृतको कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
मतपेटिका संकलन पश्चात् सर्वदलीय बैठक बोलाएर त्यसको निर्णय अनुसार मतगणना कार्य सुरु हुने बताइएको छ। मतगणनाका लागि कर्मचारी र दलका प्रतिनिधिबीच दूरी कायम गराउन जालीको व्यवस्था गरिएको छ। मतगणनास्थलमा साउण्ड सिस्टमसहितको सिसिटिभी जडान गरिएको छ।
जिल्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा समेत सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत चन्द्रप्रकाश तिवारीले बताए। मतगणनाको क्रममा कुनै अवरोध नआएमा बढीमा तीन दिन भित्र अन्तिम नतिजा आइसक्ने आकलन गरिएको छ।
यसैबीच सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९, ज्यामिरे स्वास्थ्य चौकी केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सामान्य विवाद हुँदा केही समय मतदान प्रभावित बनेको थियो। विवाद भए पनि नेपाल प्रहरीको इन्सक्पेटरको नेतृत्वमा निर्वाचन अधिकृत निमा घिमिरे सहित नेपाली सेना र सशस्त्र प्रहरी समेत परिचालन भएको थियो। केही बेर तनावग्रस्त बनेकोमा त्रासको बीच मतदान भयो।
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नम्बर ३ मा रहेको क्षमादेवी माध्यमिक विद्यालयमा झडप हुँदा ४ राउण्ड हवाई हायर भयो। नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा बाह्रबिसे नगरपालिका वडा नम्बर १ घोर्थलीको मतदान केन्द्रमा मतदान १ घण्टा रोकिन पुग्यो।
यस्तै त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ मा रहेको मतदान केन्द्रमा विवाद हुँदा मतदान केही समय प्रभावित बनेको थियो।
मतदान केन्द्रमा एउटै मान्छेले दुई पटक मतदान गरेको भन्दै स्थानीय कार्यकर्ताबीच सुरु भएको झगडाले मतदान केन्द्रछेउमा ढुंगामुडा र टेबुल तोडफोड भएको थियो।