सप्तरीकाे राजगढ गाउँपालिका वडा न ४ पिपरा अधारभुत विद्यालय मतदान केन्द्रमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ।
झडपमा दुबै समूहका ७ जना घाइते भएका छन्।
शान्तिपूर्ण तरिकाले मतदान भईरहेको बेला १०/१५ जना माेटरसाईकलमा लाठी लिएर आएका एमालेका कार्यकर्ताले बुथ बाहिर बसिरहेका कांग्रेस कार्यकर्तालाई कुटपिट गरेको काँग्रेस वडा नं ४ का उमेदवार हेमनरायण साहको आरोप छ।
एमाले कार्यकर्ताकाे कुटाइबाट कांग्रेसका ५ जना कार्यकर्ता गम्भीर घाइते भएका छन्। कुटपिटबाट टेक नरायण भन्ने चन्द्रनरायण साह,गणेशी साह,प्रशुराम साह,संजय साह,सुरुज नरायण साह घाइते भएका हुन्। घाइतेमध्ये अधिकांशकाे टाउकाे फुटेको छ।
कुटपिटमा एमालेका दुई कार्यकर्ता पनि घाइते भएका छन्। घाइते हुनेहरूमा जयप्रकाश मण्डल र इन्द्रजित मण्डल रहेका छन्। घाइते सबैको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ।