अवैध रुपमा ग्राभेल उत्खनन गर्ने पाँच टिपर र एक वटा जेसीबीलाई प्रहरीले सिरहाकाे गोलबजार-१ मुक्सारबाट नियन्त्रणमा लिएको छ।
स्थानीयले दिएकाे सूचनाकाे आधारमा प्रहरीले ना३ख ६८१२, प्र २–०१–००१ ख ०२४३, ना३ख ८७७७, प्र२ –०१–००१ ख ०१०१ र रा१ख २०८८ नम्बरको टिपर र नम्बर उल्लेख नभएको चेनवाला स्काभेटर शनिवार राति नियन्त्रणमा लिएकोहो।
टिपर र स्काभेटर नियन्त्रणमा लिए पनि साचो लिएर ड्राइभरहरू फरार भएकाले चार वटा टिपर र स्काभेटर प्रहरीको सुरक्षामा उत्खनन स्थलमै रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए। उत्खनन गरिरहेको अवस्थामा प्रहरी गएपछि सबै गाडीका चालक भागेका थिए।
प्रत्येक वर्ष विकास निर्माण सुरु भएसँगै सिरहाको गोलबजार, धनगढीमाई, मिर्चैया, कर्जन्हा र लहान नगरपालिकाको उत्तरीक्षेत्रमा अवैध उत्खनन हुने गरेकाे छ। स्थानीय निकायमा नै खानी दर्ता गर्ने र त्यसको राजस्व लिने व्यवस्था भए पनि उनीहरूको मौनताले मिलेमताेकाे आशंका स्थानीयले गरेका छन्।
गोलबजार नगरपालिकाका सूचना अधिकारी दिनेश सहनीले कुनै पनि खानी नगरमा दर्ता नभएको जानकारी दिएका छन्। सहनीले प्रहरीले टिपर नियन्त्रणा लिएको विषयमा पनि जानकारी नभएको जनाए।
उनले भने, ‘हाम्रोमा अहिलेसम्म जानकारी आएको छैन, प्रहरीले प्रकृया पुर्याएर जिम्मा लाउँछ होला।’