दमक गोल्डकप : गोर्खा ब्वाइज सेमिफाइनलमा

गोर्खा ब्वाइज क्लब रुपन्देही झापाको दमकमा जारी दमक गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ।

शनिबार भएको खेलमा दार्जिलिङ पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ गोलअन्तरले पराजित गर्दै गोर्खा ब्वाइजले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो।  

एक/एक गोलको बराबरीमा निर्धारित समय सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा गोर्खा ब्वाइजको चारवटै प्रहार गोलमा परिणत भएको थियो। टाइब्रेकरमा गोर्खा ब्वाइजका मिक्चेन तामाङ, सुशन तामाङ, फोडे फोफोना र अवाडेले गोल गरे।

टाइब्रेकरमा दार्जिलिङ पुलिस क्लबका आशिष देवान र नेवाश राना गोल गर्न चुकेपछि गोर्खा ब्वाइज विजयी भएको हो। टाइब्रेकरमा दार्जिलिङका भाइचाङ राई, दिवश तामाङ र निशाकर राईको प्रहार गोलमा परिणत भएको थियो। खेलमा सुरुवाती अग्रता गोर्खा ब्वाइजले लिएको थियो। खेलको ८ औँ मिनेटमा गोर्खाका यानिकले गोल गरे। 

डिबक्समा रहेका यानिकले हेडमार्फत गोल गरेका थिए। तर, तत्कालै दार्जिलिङ पुलिस क्लबले गोल फर्कायो। १३ औँ मिनेटमा गोर्खा ब्वाइजका खेलाडीले डिबक्समा ह्यान्ड गरेपछि दार्जिलिङ पुलिसले पेनाल्टी पाएको थियो। पेनाल्टीमार्फत भाइचाङ राईले गोल गर्दै खेललाई बराबरीमा फर्काए।    

शनिबारको खेलको म्यान अफ द म्याच विजयी गोर्खा ब्वाइजका अवाडे भए। उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे। आइतबार त्रिभुवन आर्मी फुटबल क्लब र दार्जिलिङको मानेभञ्ज्याङ फुटबल क्लबबीच खेल हुने खेल संयोजक मोहन मगरले जानकारी दिए 

प्रकाशित मिति: : 2022-03-26 19:55:00

प्रतिकृया दिनुहोस्