भैरहवामा बन्यो बहुउद्देश्यीय खेलमैदान  

सिद्धार्थनगर नगरपालिकाले बहुउद्देश्यीय खेलकुद मैदान बनाएको छ।

नगरको खेलकुद विकासमा टेवा पुग्नेगरी सिद्धार्थनगर नगरपािलका वडा नम्बर ३ मा खेलकुद मैदान निर्माण गरी शनिवारदेखि सञ्चालनमा आएको हो।

दुई चरणमा गरी तीन करोड ६३ लाख लागतमा बनेको खेलमैदानको उद्घाटन सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले गरेका छन्। करिब चार बिगाहा क्षेत्रफलमा रहेको खेलमैदानमा एथलेटिक्स, फुटवल मैदानसहित सबै प्रकारका खेल खेल्न मिल्छ।  सिद्धार्थनगरमा क्रिकेट रंगशाला भए पनि अन्य खेलका लागि समस्या थियो। यही कारण नयाँ खेल मैदान बनाएको नगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन अर्यालले भने। 

पहिलो चरणको खेलकुदको मैदान निर्माण, पर्खाल निर्माण र जग्गा सम्याउने काम एक करोड ७६ लाख २७ हजार चार सय ८५ रुपैयाँ लागत अनुमानमा  ९७ लाख ३४ हजार दुई सय १९ रुपैयाँमा टेन्डर भई सम्पन्न भएको छ। दोस्रो चरणमा प्रवेशद्वार, शौचालय र माटो पटान गरी एक करोड ३० लाख १० हजार दुई सय ४ रुपैयाँ लागत अनुमान गरेकोमा ७६ लाख ९५ हजार सात सय २८ रुपैयाँको टेण्डर भई काम अन्तिम चरणमा रहेको इन्जिनीयर अर्यालले बताए। 

लक्ष्मणले गरे जग्गादान

बहुवर्षीय कार्यक्रमअन्तर्गत १२ करोड लागतअनुमान रहेको यस परियोजनमा बिस्तारै अन्य भौतिक संरचना क्रमशः निर्माण गर्दै जाने तयारी छ। फुटबल मैदान बनाउने लक्ष्य रहेको मैदानमा प्याराफिट, दक्षिण तर्फ बगैँचा लगयतको संरचना रहने छन्। खेल मैदानमा जाने बाटो थिएन, जग्गादाता लक्ष्मण पन्थी र राधिका उपाध्यायले खेल मैदान प्रवेश गर्ने ३० फिट चौडा बाटो कुल दुई कठ्ठा सवा दुई धुर जग्गा दान गरेका छन्। 

प्रकाशित मिति: : 2022-03-26 13:59:00

प्रतिकृया दिनुहोस्