३४ प्रतिशतले लगाए कोरोनाविरुद्धको बुस्टर डोज खोप

रसुवामा करिब ३४ प्रतिशतले कोभिड १९ विरुद्धको बुस्टर डोज लगाएका छन्।

जिल्लाको ५ वटै गाउँपालिकामा गरी हालसम्म ३३ दशमलब ८२ प्रतिशतले कोभिड १९ विरुद्धको बुस्टर डोजको खोप लगाएका हुन्।

स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेका अनुसार जिल्लामा २९ हजार एक सय ६ जनालाई बुस्टर डोजको खोप दिने लक्ष्य रहेको छ। हालसम्म ९ हजार ८ सय ४५ जनाले मात्र कोभिड १९ विरुद्धको बुस्टर डोज लगाएका छन्। १९ हजार २ सय ६१ जनालाई बुस्टर डोज लगाउन बाँकी रहेको छ। 

गएको माघ ३ गतेदेखि जिल्लामा कोभिड १९ विरुद्धको बुस्टर डोजको खोप लगाउन सुरु गरिएको थियो। सुरुमा जिल्लामा अग्रपंतिमा रहेकालाई बुस्टर डोजको खोप लगाइएको थियो। क्रमशः कोभिडको पहिलो र दोस्रो डोजको खोप लगाएको ६ महिना पुरा भएकालाई लगाउन थालिएको थियो। 

कोरोनाविरुद्धको पहिलो र दोस्रो डोजको पूर्ण खोप लगाएको ६ महिना पुरा भएका नागरिकले बुस्टर डोजको खोप लगाउन पाउँछन्। स्वास्थ्य कार्यालय रसुवाले अभियान नै सञ्चालन गरी बुस्टर डोजको खोप लगाइरहेको छ। हालसम्म तीन पटक अभियान सञ्चालन गरी बुस्टर डोजको खोप लगाइएको जनाइएको छ। बुस्टर डोज अन्तर्गत कोभिसिल्ड, भेरोसेल, मोडर्ना र एष्टाजेनेकाको खोप लगाएको छ। 

जिल्लामा हालसम्म७ सय ११ जनाले कोभिशिल्ड, ३ सय ९१ जनाले भेरोसेल, ८ हजार ५ सय ६६ जनाले एष्ट्राजेनेका र १ सय ७७ जनाले मोडर्ना खोप लगाएका छन्। 

स्वास्थ्य कार्यालय रसुवाले जिल्लाको स्थानीय तहलाई खोप उपलब्ध गराउने गरेको छ। स्थानीय तहमार्फत पायक पर्ने खोप केन्द्रबाट खोप अभियान सञ्चालन गरिरहेको छ। अहिले साउन र भदौमा दोस्रो खोप लगाएकाहरूलाई बुस्टर डोजको खोप दिइरहेको चालिसेले बताए।  

कोभिड १९ विरुद्धको दोस्रो डोजको खोप लगाउन नागरिकले जति चासो दिए पनि अहिले बुस्टर डोज लगाउन कम चासो दिएको पाइएको चालिसेले बताए। दोस्रो खोप लगाउन जति चासोका साथ आएका थिए, अहिले बुस्टर डोजको खोप लगाउन त्यति चासो दिएको पाइएको छैन। 'स्वास्थ्य संस्थामा गएर लगाउने पहिला जस्तो चासो घटेको पाइएको छ, बुस्टर डोज लगाउने कम रहेको पाइयो', उनले भने।   

कार्यालयले वैशाखमा गएको असोजमा दोस्रो खोप लगाएकालाई बुस्टर डोजको खोप दिने तयारी गरिरहेको जनाएको छ। जिल्लामा अहिले बुस्टर डोजको खोप लगाउन १० हजार डोज खोप रहेको जनाइएको छ  । खोप लगाउन बाँकी रहेकालाई पुन अभियान सञ्चालन गरी खोप लगाइने स्वास्थ्य कार्यालय रसुवाले जनाइएको छ। 

जिल्लामा कोभिड १९ विरुद्धको खोप लगाउन योग्य सबैले पूर्ण मात्राको खोप लगाइसकेको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ। जिल्लामा कोरोनाविरुद्धको पहिलो र दोस्रो डोजको खोप लगाउन छुटेकालाई खोप लगाइरहेको बताइएको छ। ओमिक्रोनले ल्याएको तेस्रो लहरपछि रसुवामा कोभिड संक्रमणदर शून्यमा झरेको छ।

प्रकाशित मिति: : 2022-03-25 21:50:00

प्रतिकृया दिनुहोस्