दिक्तेल मेयर कप तेस्रो केएफए फुटबल प्रतियोगिता सुरु

खोटाङमा दिक्तेल मेयर कप तेस्रो केएफए क्लब स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ।

खोटाङ फुटबल एकेडेमीको आयोजनामा दिक्तेलमा आगामी १८ चैतसम्म सञ्चालन हुने प्रतियोगिता शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गरेका छन्। दिक्तेलको माटिकोरेमा दिक्तेल रंगशाला शिलान्यास लगत्तै दिक्तेल मेयर कप तेस्रो केएफए क्लब स्तरीय फुटबल प्रतियोगिता उद्घाटन गरिएको हो। 

‘स्थानीय खेलाडी र क्लबको पहिचान, खोटाङ एकेडेमीको अभियान’ भन्ने नारासहित सुरु भएको प्रतियोगितामा जिल्लाका १६ टिमको प्रतिस्पर्धा हुने प्रतियोगीताका इभेन्ट मेनेजर प्रशिक्षक रोशेस श्रेष्ठले बताए। डिफेन्डिङ च्याम्पियन युवा जागरण स्पोर्ट्स क्लब र बुइपा ११ बिच भएको उद्घाटन खेलमा युवा जागरण स्पोर्ट्स क्लब विजयी भएको छ। युवा जागरणले २ गोल गर्दा बुइपा ११ ले कुनै पनि गोल गर्न सकेन। उद्घाटनकै अवसरमा नगरपालिका र निर्माण व्यवसायी बिचमा मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो। 

स्थानीय फुटबल टिम र खेलाडीको प्रवर्द्धनका लागि आयोजना गरिएको प्रतियोगीताका विजेताले १ लाख २५ हजार, उपविजेताले ६५ हजार र सेमीफाइनलिष्टले २०/२० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। यस्तै, उत्कृष्ट गोल रक्षक, डिफेण्डर, मिड फिल्डर, गोलकर्ता र कोचलाई जनही ५ हजार नगद, ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ। सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार नगदका साथमा ट्रफि, मेडल, प्रमाण–पत्र तथा म्यानअफ द म्याचलाई नगद एक हजारका साथमा मेडल प्रदान गरिने प्रतियोगीताका संयोजक श्यामकुमार पौडेलले बताए। 

प्रि–क्वाटरफाइनलमा विजयी हुने टिमलाई दुई हजार, क्वाटरफाइनल जित्नेलाई तीन हजार, सेमिफाइनल जित्नेलाई ३ हजार पाँच सय र फाइनल जित्नेलाई थप चार हजार प्रोत्साहन रकम प्रदान गरिने छ। नगरपालिका मुख्य प्रायोजक रहेको जिल्ला खेलकुद विकास समितिमा दर्ता भएका आधिकारिक टिमलाई मात्र प्रतियोगितामा सहभागी गराइएको छ। एकेडेमीले २०७४ साल र २०७७ सालमा फुटबल प्रतियोगिता सञ्चालन गरेको थियो। 

प्रकाशित मिति: : 2022-03-25 21:15:00

प्रतिकृया दिनुहोस्