अलपत्र परेकाहरूलाई गाँस, बास र कपाससँगै औषधि उपचारको व्यवस्था गर्दै आएको पर्साको वीरगञ्जस्थित मानवसेवा आश्रमले भवन निमार्ण सुरु गरेको छ। उक्त भवनको एक समारोहबीच आज मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले शिलान्यास गरे।
शिलान्यासको अवसरका मुख्यमन्त्री राउतले आश्रम निर्माणमा लाग्ने खर्चका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले मानवसेवा आश्रमले गर्दै आएको समाजसेवी कार्यप्रति प्रशांसा गरे।
कार्यक्रममा सङ्घीय सांसद् प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीसमेतको उपस्थिती थियो। भवन निर्माणमा लगभग रु १८ करोड लाग्ने अनुमान गरिएको छ। तीन वर्षभित्र भवनको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ। प्रदेश सरकार स्थानीय सरकार र विभिन्न सङ्घसंस्थाको सहकार्यमा भवन निमार्ण गरिने संस्थाको योजना छ ।
आश्रमको भवन निर्माणका लागि महानगरपालिकाले रु ५० लाख सहयोग पनि उपलब्ध गराएको छ। जसमध्ये रु २५ लाखबाट आश्रम अगाडिको रहेको जग्गालाई बाटो प्रायोजनका लागि खरिद गरिएको छ र बाँकी २५ लाखबाट माटो पूर्ण र अन्य प्रारम्भिक काम भइरहेको छ।
वीरगञ्ज महानगरपालिकाले उपलब्ध गराएको लगभग १८ कठ्ठा क्षेत्रफलमध्ये १४ कठ्ठामा भान्छा घर, तालिम हल, सहयोगापेक्षीलाई राख्ने कोठा, हेरचाहमा खट्नेका लागि आवास र आश्रममा आउने पाहुनाका लागि अतिथि गृहसहितको भवन निर्माण गरिने आश्रमले जनाएको छ। बाँकी रहेको जग्गामा घुमघाम गर्नका निमित्त पार्क र अन्य रचनात्मक गतिविधिका लागि खाली रहने छ।
निर्मित भवनले भोजपुरी कला संस्कृतिलाई झल्काउने, वातावरण सुहाउँदो र भूकम्प प्रतिरोधी हुने बताइएको छ।
मानवसेवा आश्रमको १३ जिल्लामा आफ्नै भवन बनिसकेको छ। मानवसेवा आश्रमले विसं २०८० भित्रमा आश्रम शाखाको भवन बनाइसक्ने, विसं २०८१ सम्म जनचेतना फैलाउने र विसं २०८२ वैशाख १ गते औपचारिकरूपमा सडक मानवमुक्त नेपाल घोषणा गर्ने लक्ष्य लिएको छ। विसं २०७४ जेठ १५ गते स्थापना भएको मानवसेवा आश्रम वीरगञ्ज शाखामा छ बालबालिकासहित ६२ जना आश्रित छन्।