तीन दिने नेपाल भ्रमणको सिलसिलामा चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी अबकाे केहीबेरमा विशेष विमानमा काठमाडौं आइपुग्दै छन्।
पाकिस्तान, अफगानिस्तान, भारत हुँदै उनी काठमाडौं आउन लागेका हुन्। चिनियाँ विदेशमन्त्रीको रुपमा यो उनको तेस्रो नेपाल भ्रमण हो।
चिनियाँ विदेश मन्त्री वाङ नेपाल आउँदा उनले राख्नै लगाउने एउटा कार्यक्रम हो- हाइकिङ। अन्य देशको भ्रमण गर्दा उनी हाइकिङमा निस्कँदैनन्। तर नेपाल भ्रमणमा आएको बेला उनी हाइकिङ गर्न छुटाउँदैनन्। नेपालका सुन्दर पहाडले उनलाई लाेभ्याउने गरेकाे छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार यस पटकको भ्रमणमा पनि उनी हाइकिङ्मा निस्कने छन्। पहिलो पटक नेपाल आउँदा नगरकोट, दोस्रो पटक आउँदा चन्द्रागिरी र अहिले तेस्रो पटक आउँदा उनको रोजाइमा परेको छ- शिवरपुरी।
शनिबार विहान उनले शिवपुरी हाइकिङमा जाने कार्यक्रम तय भएको छ। उनले हाइकिङमा कति समय बिताउँछन् भन्ने केही खुलाइएको छैन। अघिल्ला भ्रमणमा उनले एक देखि डेढ घण्टा हाइकिङमा बिताउने गरेका थिए।
वाङले चिनियाँ विदेशमन्त्रीको रुपमा पहिलो पटक सन् २०१४ को डिसेम्बरमा नेपालको भ्रमण गरेका थिए। त्यतिबेला उनले झक्तपुरको नगरकोट पुगी हाइकिङ गरेका थिए।
वाङ यीले आफ्नो हाइकिङ कार्यक्रम गोप्य राख्ने गरेका छन्। भ्रमणको तारतम्य मिलाउने कमैलाई मात्र यो जानकारी दिने गरिएको छ।
सन् २०१४ को डिसेम्बरमा उनी हिंड्दै नगरकोटको भ्यु टावर पुग्दा कमैले मात्र उनी त्यहाँ जाने कार्यक्रम रहेको थाहा पाएका थिए। उनी सूर्योदय र सूर्यअस्त अवलोकन गर्न नगरकोट पुगेका थिए।
सो वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने वित्तिकै उनी सिधै नगरकोट पुगेका थिए। पछि मात्र थाहा भयो नगरकोटमा उनले क्लब हिमालय रिसोर्टमा १५ वटा कोठा बुक गरिसकेका रहेछन्। उनी रिसोर्टबाट भ्यु टावरसम्म एक घण्टा हाइकिङ गरेका थिए।
वाङ चिनियाँ विदेशमन्त्रीको रुपमा दोस्रो पटक सन् २०१९ सेप्टेम्बर दोस्रो साता नेपालको भ्रमण गरेका थिए। त्यतिबेला पनि उनी सुटुक्क हाइकिङमा निस्केका थिए।
सन् २०१९ मा काठमाडौं आइपुगेको भोलिपल्ट उनी केबुलकारमा चन्द्रागिरी पुगी त्यहाँबाट मातातिर्थ भञ्ज्याङसम्म हाइकिङ गरेका थिए। उनी चन्द्रागिरी पुग्नु अघिल्लो दिनसम्म केबुलकारका वरिष्ठ कर्मचारीलाई समेत वाङ आउनेबारे जानकारी दिइएको थिएन।
मातातिर्थ भञ्ज्याङबाट हाल सञ्चालनमा नरहेको रोपवेको भग्नावशेष अवलोकन गरी उनी चन्द्रागिरी नै फर्केका थिए। उनले करिव डेढ घण्टा हाइकिङ गरेका थिए।