कलंकीमा कारले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन्।
बिहीबार दिउँसो कालिमाटीबाट कलंकीतर्फ आउँदै गरेको बा ५ च ५४४० नम्बरको कारले एउटा मोटरसाइकल र रोकिराखेको स्कुटरलाई ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीले जनाएको छ।
कारकाे ठक्करबाट २ चालक र ४ पैदलयात्रु घाइते भएको प्रहरीले जनाएकाे छ।
घाइते हुनेमा मोटरसाइकल चालक नुवाकोट घर भइ हाल कंलकी बस्ने वर्ष ३५ वर्षीय कृष्ण सिटौला, स्कुटर चालक कैलाली घर भइ हाल नयाँ बजार बस्ने २६ वर्षीय महेश जैसी रहेका छन्।
त्यसैगरी नैकापका ४२ वर्षीय अच्युत कार्की, तार्केश्वर नगरपालिका-३ घर भएका ५२ वर्षीय चन्द्रबहादुर लिम्बू, तार्केश्वरकै ३६ वर्षीय देवराज फुँयाल, ओखलढुङ्गाको सुनकोशी गाउँपालिका घर भएकी २६ वर्षीया मनिसा कार्की घाइते भएका छन्।
उनीहरुको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।